मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधिको मस्यौदा तयार

मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधिको मस्यौदा तयार

निर्वाचन आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधिको मस्यौदा तयार पारेको छ । 

मतदाताले आफ्नो स्थानीय तहमार्फत सहज र प्रभावकारी ढंगले निर्वाचन तथा मतदानका विभिन्न विषयको जानकारी प्राप्त गर्नका लागि आयोगले सो मस्यौदा तयार पारेको हो । मस्यौदामा सबै स्थानीय तहले मतदातालाई निर्वाचन शिक्षा प्रदान गरी मतदातालाई निर्वाचनका विषयमा पर्याप्त जानकारी प्रवाह गर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै, लोकतन्त्र, संविधान र निर्वाचन कानून, निर्वाचन आयोग, मतदाता नामावली दर्ता र मतदाता परिचयपत्र, निर्वाचन व्यवस्थापन चक्र, राजनीतिक दल, राजनीतिक दल दर्ता, राजनीतिक वित्त र निर्वाचन खर्च, निर्वाचनमा सूचना प्रविधि, आमसञ्चार र सामाजिक सञ्जालजस्ता विषयमा सम्बन्धित स्थानीय तहले मतदाता शिक्षा प्रदान गर्नुपर्ने मस्यौदामा उल्लेख छ । 

त्यसैगरी, मतदाता दर्ता र अद्यावधिक, मताधिकार र मतदाताको कर्तव्य, मतदान केन्द्र र मतदान सामग्री, मतपत्र र मतदान प्रक्रिया, मतगणना, मतपरिणामजस्ता विषयमा शिक्षा कार्यक्रम सम्बन्धित स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने व्यवस्था गरी निर्वाचन तथा मतदाता शिक्षा सम्बन्धमा स्थानीय तहको भूमिकालाई स्थापित गरिने पनि मस्यौदामा जनाइएको छ । 

यो कार्यविधिको कार्यान्वयनबाट भविष्यमा सञ्चालन हुने निर्वाचनमा मतदाताको सहभागिता बढाउन, बदरमत घटाउन, निर्वाचनको निष्ठा अभिवृद्धि गरी मतदातालाई सुसूचित निर्णय गर्न सक्ने तुल्याउन तथा समग्रमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास आयोगले लिएको छ । 

आयोगले मस्यौदामा रहेका उक्त व्यवस्थालगायत अन्य विषयहरु थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने नेपाली नागरिक, स्थानीय तह तथा अन्य सरोकारवालाहरुलाई आगामी मंसिर १५ गतेभित्र आयोगको बेवसाइटमा रायसुझाव पठाउन अनुरोध गरेको छ ।

टिप्पणीहरू