आफ्नो आन्दोलन दबाउन सरकार र एमाले मिलेको दुर्गा प्रसाईंको दाबी
राजसंस्था पुनःस्थापनाको नाममा बैंकको ऋण मिनाहा गराउने अभियानमा रहेको आरोप लागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा राजधानी आएका महिलाहरु लखेटिएको दाबी गरेका छन् ।
एमाले निकट राष्ट्रिय युवासंघका कार्यकर्ताले सुतिरहेको अवस्थामा महिलाहरुलाई लखेटेको उल्लेख गर्दै उनले घटनामा सरकार मौन बसेको भन्दै आपत्तिसमेत जनाएका छन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आज विज्ञप्ति जारी गर्दै एमालेले गरेको उक्त हिंसात्मक गतिविधिमा सरकार मौन बस्नुले भोलिको आन्दोलन दबाउन दुई पक्षबीच मिलोमतो भएको देखिएको उल्लेख छ ।
‘अहिलेसम्म सरकारले हामी नागरिकहरुको आवाजलाई बन्द गराउनका लागि अमानवीय कुकृत्यहरु र एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलोमतोमा भोलिको जनविद्रोहलाई दबाउन जस्तोसुकै पनि अमानवीय कार्य गर्न सक्ने देखिएको’, विज्ञप्तिमा उल्लेख छ ।
अभियानले आम नागरिकको आवाज बन्द गराउन जनआन्दोलनका क्रममा अमानवीय कुकृत्यसमेत हुन सक्ने जनाएको छ । आफ्ना पीडा र वेदना सुनाउन तथा सरकारसँग आफ्ना माग राख्न विभिन्न जिल्लाबाट आएका आम नागरिकलाई राजमार्गमा रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्य भइरहेको जानकारी गराउँदै अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संगठन, नेपालस्थित वैदेशिक कुटनीतिक नियोग, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र नागरिक समाजसँग घटनाबारे प्रत्यक्ष निगरानी राखिदिन आग्रह गरेको छ ।
प्रसाईं नेतृत्वको समूहले भोलिदेखि तीन दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ । आन्दोलनमा सहभागी हुन उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि गएराति दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक भएको छ ।
टिप्पणीहरू