सुनिल पौडेल दोषी ठहर, सजाय १९ दिनपछि तोकिँदै

सुनिल पौडेल दोषी ठहर, सजाय १९ दिनपछि तोकिँदै

राष्ट्रिय पेमेण्ट गेटवे प्रणालीमा अनियमितता गरेको आरोप लागेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको छ । 

त्यस्तै, उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित आठ जनाले सफाइ पाएका छन् । पौडेलले संस्थाको प्रमुखको हैसियतमा प्रणाली खरिदका लागि २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भुक्तानी दिन निर्देशन दिएको र सञ्चालनमा ल्याउनुपर्ने प्रणाली थन्काएर सरकारको स्रोतको दुरुपयोग गरेको ठहर छ । 

आदेशमा भनिएको छ, ‘प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३,२७,५८,०७७ भुक्तानी गरेको देखिन्छ । उक्त रकम भुक्तानी गरी खरिद गरिएको सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्ने जिम्मेवारी संस्थाको प्रमुख कार्यकारी निर्देशकको रुपमा निज प्रतिवादीको रहेकोमा हालसम्म पनि सञ्चालनमा आएको देखिँदैन् । अतः निज प्रतिवादीले कार्यकारीको हैसियतमा आफ्नो ओहोदाको कर्तव्यपालन गर्दा लापरवाही गरी २३,२७,५८,०७७ मूल्य तिरी खरिद गरिएको परामर्श सेवा र सफ्टवेयर सञ्चालनमा नल्याई प्रयोगविहीन अवस्थामा रहेबाट निज प्रतिवादीको कारणले सरकारलाई हानिनोक्सानी पुगेको देखिन्छ । तसर्थ, उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादी सुनिल पौडेलले आरोप दाबीबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५३ को दफा १७ को कसूर गरेको ठहर्छ ।’

अदालतले सजाय निर्धारणका लागि वैशाख २५ गते पेशी तोकेको छ । छ वर्षअघि खरिद गरिएको प्रणाली अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । आवश्यक पूर्वाधार तयार नगरी हचुवाको भरमा २५ करोड रुपैयाँ खर्चेर प्रणाली खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेषमा मुद्दा दायर गरेको थियो ।

टिप्पणीहरू