आफ्नै निर्णयपछि प्रहरीलाई थपियो कल्याणकारी कोष बलियो बनाउनुपर्ने चुनौती

आफ्नै निर्णयपछि प्रहरीलाई थपियो कल्याणकारी कोष बलियो बनाउनुपर्ने चुनौती
सुन्नुहोस्

नेपाल प्रहरीका अवकाशप्राप्त कर्मचारी र तिनका परिवारले बहालवाला कर्मचारीसरह स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । प्रहरीको नीति निर्माण समिति तथा प्रहरी कल्याण कोष सञ्चालक समितिले आउँदो साउनदेखि अवकाशप्राप्त कर्मचारी र तिनका परिवारलाई बहालवाला कर्मचारीसरह स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको छ । 

यो निर्णयसँगै अब भूपू प्रहरी कर्मचारी र तिनका परिवारले नेपाल प्रहरी अस्पताल र प्रदेश प्रहरी अस्पतालहरुमा निःशुल्क औषधिउपचार गराउन पाउने भएका हुन् । यसअघि बहालरत कर्मचारीलाई चेकजाँच, ल्याब टेस्ट, औषधि निःशुल्क भएपनि भूपू कर्मचारीलाई केही छुटमा निश्चित् शुल्क लिँदै आइएको थियो ।  

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार आउँदो साउनदेखि अवकाशप्राप्त कर्मचारी र तिनका परिवारले चेकजाँचदेखि लिएर औषधिसम्म निःशुल्क पाउनेछन् । 

‘तीन दिनअघि बसेको समितिको बैठकले सो निर्णय गरेको हो । यो निर्णयले अवकाशप्राप्त कर्मचारीहरुलाई धेरै राहत हुन्छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित प्रहरी अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिँदा उहाँहरुले कुनै शुल्क तिर्नुपर्ने छैन् । यसअघि बहालवाला कर्मचारीलाई निःशुल्क भएपनि उहाँहरुले भने थोरै मात्र छुट पाउनुहुन्थ्यो’, उनले भने । 

पछिल्लो निर्णयसँगै प्रहरीलाई कल्याणकारी कोष बलियो बनाउनुपर्ने चुनौती थपिएको छ । प्रवक्ता ढकाल भन्छन्, ‘यो निर्णयको हाल सबैतिरबाट राम्रो प्रतिक्रिया पाएका छौं । हामीले चुनौतीका बाबजुद पनि निःशुल्क उपचार गर्ने निर्णय गरेका हौं । त्यसैले अब कल्याणकारी कोषलाई मजबुत बनाउन जरुरी छ । सबैको निःशुल्क उपचार गर्ने भएपछि फण्ड धेरै लाग्छ । आर्थिक मन्दी छ । मिसनबाट जुन कन्ट्रिब्यूसन हुन्थ्यो, त्योपनि अहिले रोकिएको छ । चुनौती हुँदाहुँदै पनि हामी अघि बढेका छौं ।’
 

टिप्पणीहरू