निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न निर्देशन

निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न निर्देशन

निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरु रोक्न सुरक्षानिकायलाई निर्देशन दिएको छ । आयोगले प्रचारप्रसार निषेध अवधिमा निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच आउने अवस्था देखिएमा तत्काल कारबाही अघि बढाउन भनेको छ । 

आयोगले उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै पनि व्यक्तिलाई मतदानको अधिकारबाट वञ्चित गराउने उद्देश्यले अवरोध, थुनछेक, धाकधम्की, त्रास, सामाजिक प्रतिष्ठामा आघात, बहिष्कार, लोभलालच, आर्थिक प्रलोभन देखाउने तथा भड्काउने वा प्रतिज्ञा गराउनेजस्ता कार्य हुन नदिन समेत निर्देशन दिएको छ । 

त्यस्तै, निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचन कार्यमा संलग्न कर्मचारी, पदाधिकारी, अनुगमनकर्ता, सुरक्षाकर्मी वा आयोगले खटाएको पर्यवेक्षक, सञ्चारकर्मी वा कुनै संस्थाले निर्वाचनको कुनै काम गर्दा उम्मेदवारलाई मत दिनबाहेक पक्ष वा विपक्षमा कुनै किसिमको काम नगर्न नगराउन भनिएको छ । 

आयोगले उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा गरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिने तथा सार्वजनिक भोग आयोजना गर्नेजस्ता कायम नगर्न नगराउन पनि भनेको छ ।

टिप्पणीहरू