सौराहामा भिडेका भीम रावल गोदावरीमा छेकिएपछि पार्टी छोड्ने तयारीमा

सौराहामा भिडेका भीम रावल गोदावरीमा छेकिएपछि पार्टी छोड्ने तयारीमा

नेकपा एमालेका नेता भीम रावलले पार्टी छोड्ने संकेत गरेका छन् । दशौँ महाधिवेशनमा केपी ओलीसँग प्रतिष्पर्धा गरेकै कारण प्रतिशोध साँधेर पार्टीबाट निकाल्न खोजिएको दाबी गरेका उनले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको जनाउँदै एमाले छोड्न लागेको संकेत दिएका हुन् ।  

ललितपुरको गोदावरीमा हालै सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्रसमेत उपलब्ध नगराएर निषेध गरिएको र त्यसले आफूलाई गम्भीर मोडमा पुर्याएको रावलले बताए । यसलाई जनताको बहुदलीय जनवाद र एमालेको परम्पराविरित भनेका उनले आफ्ना लागि स्वीकार्य नहुने स्पष्ट पारे । 

‘एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि  अर्को मोडमा लाग्न सक्छ’, रावलले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’

कोही-कोही मान्छे तर्क गर्छन्- सबैलाई पठाएको छ,एपमा पठाएको छ नि ! छुट्टै पठाउनुपर्ने भीम रावल को हो ? मलाई गज्जब लाग्यो-अनि त्यो बेनामे एपबाट पठाउँदा केपी ओली हुनुभएको भए जानुहुन्थ्यो ?

नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गरिएको उनको दाबी छ । यसलाई मार्क्सवाद र जनताको बहुदलीय जनवादविरुद्धको कदमका रुपमा लिँदै रावलले पार्टी छोड्न बाध्य पार्न खोजिएको बताए । 

'मार्क्सवाद,लेनिनवाद भनेको द्वन्द्ववादमा आधारित हुन्छ, त्यहाँ तर्कलाई स्थान दिइन्छ । हामी विगतमा नेकपा एमालेको केन्द्रीय कमिटीमा बहस गर्थ्यौँ, छलफल गर्थ्यौँ',उनले भने, 'त्यसकारण गोदावरी बैठकमा म जान इच्छुक थिएँ । मेरो त परिचयपत्र नै बनेको रहेनछ । अनि कोही-कोही मान्छे तर्क गर्छन्- सबैलाई पठाएको छ,एपमा पठाएको छ नि ! छुट्टै पठाउनुपर्ने भीम रावल को हो ? मलाई गज्जब लाग्यो-अनि त्यो बेनामे एपबाट पठाउँदा केपी ओली हुनुभएको भए जानुहुन्थ्यो ?    

एमालेको दशौँ महाधिवेशनमा रावलले केपी ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । सर्वस्वीकार्य अध्यक्ष चुनिने ओलीको तयारीमा बाधक बनेका उनी त्यसयता पार्टीमा जिम्मेवारीबिहीन छन् ।

टिप्पणीहरू