केएमसीमा लफडा, सुरक्षाका लागि प्रहरी खटाइयो

केएमसीमा लफडा, सुरक्षाका लागि प्रहरी खटाइयो
सुन्नुहोस्

सिनामंगलस्थित केएमसी अस्पतालमा लफडा भएको छ । उपचारका लागि पुर्याइएका एकजना सामान्य विरामीलाई डाक्टरहरुले मृत घोषणा गरेपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् । 

इलाम घर भइ बत्तिसपुतली बस्दै आएका पदमलाल रिजाललाई हिजो छाती र पेटमा समस्या देखिएपछि अपरान्ह ४ बजेतिर आफन्तले अस्पताल लगेकोमा साँझ साढे सात बजेतिर उनलाई मृत घोषणा गरिएको थियो । चिकित्सकको हेलचेक्र्याइँले विरामीको ज्यान गएको भन्दै अहिले परिवार र आफन्तले अस्पताल परिसरमै नाराबाजी गरिरहेका छन् । 

यसबारे जनआस्थाले केएमसी अस्पतालमा कार्यरत डाक्टर प्रेम थापालाई सम्पर्क गरेर बुझ्न खोजेको थियो । तर उनले तत्काल केही बोल्न नमिल्ने बताए । उनले भने, 'हामी छलफल गरिरहेका छौ । अहिले केही बोल्न मिल्दैन ।' 

त्यस्तै, अस्पतालमै कार्यरत नर्स पूजा कार्कीले आफन्तका परिवारसँग छलफल गर्न अस्पताल प्रशासनले वातावरण बनाइरहेको बताइन् । उनले भनिन्, 'अहिले सरहरु यसकै मिटिङमा हुनुहुन्छ । उहाँ (मृतक)को परिवारसँग कुरा मिलेपछि बाँकी कुरा गरौँला ।' 

नाराबाजी गर्नेहरुको भीड लागेपछि अस्पतालले प्रहरी प्रशासनसमेत गुहारेको छ । मृतकका आफन्तले अस्पतालमा छिरेर तोडफोड गर्नसक्ने देखिएपछि प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैलानीलले जानकारी दिए । 

उनले भने, 'यहाँ हिजोदेखि तनाब भइरहेको छ । अस्पतालले सहयोग मागेपछि हाम्रा साथीहरु हिजो रातीदेखि नै यहाँ खटिनुभएको हो । मृतकका आफन्त आक्रोशित छन्, जे पनि हुनसक्छ ।'

यो पनि...

इमर्जेन्सीमा उपचाररत बिरामी बितेपछि केएमसी अस्पतालमा तनाव

टिप्पणीहरू