हाहा–हुहुको भरमा मन्त्री र भुईंफुट्टा प्रवृत्तिप्रति एमाले अध्यक्ष चिन्तित

हाहा–हुहुको भरमा मन्त्री र भुईंफुट्टा प्रवृत्तिप्रति एमाले अध्यक्ष चिन्तित

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा कुनै पनि दलको बहुमत नरहेकाले अहिले जस्ता मान्छे पनि मन्त्री हुने स्थिति रहेको बताउनुभएको छ । उहाँले गठबन्धन मिलाउने क्रममा ‘हाहा–हुहु’ गर्नेहरु पनि मन्त्री बनेको टिप्पणी गर्नुभएको छ ।

‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ । हाहा हुहु गरेको भरमा मन्त्री पनि ताल पर्दा !’, ओलीले भन्नुभयो, ‘बहुमत कसैको पनि छैन । यसलाई मिलाउ, त्यसलाई मिलाउ भन्दा को मन्त्री पर्छ, को पर्दैन !’ 

पछिल्लो समय राष्ट्रिय राजनीतिमा त्यागको अवमूल्यन र अपमान गर्ने भुईंफुट्टा प्रवृत्ति देखापरेको पनि ओलीको भनाई छ । यद्यपि यस्तो प्रवृत्ति लामो समय नटिक्ने दाबी उहाँले गर्नुभयो । 

‘अहिले त एउटा प्रवृत्ति चलेको छ, पुरानो त्यागको अवमूल्यन मात्रै होइन, त्यसलाई अपमान गर्ने एउटा भुईफुट्टा भएका छन् । मन्दिर भत्काउन खोज्ने, त्याग, बलिदानहरुको अपमान गर्न खोज्ने, योगदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, त्यसको केही अर्थ थियो परिवर्तनमा भन्ने कुरा बिर्सिन खोज्ने त्यो प्रवृत्ति । यद्यपि त्यस्तो प्रवृत्ति क्षणिक हो’, कार्यकर्तालाई सम्झाउँदै ओलीले भन्नुभयो । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले आफूलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउन चाहेकोले त्यसमा साथ दिन सबैलाई अपिलसमेत गर्नुभयो ।

टिप्पणीहरू