आग्रह हाम्रो, मान्नु नमान्नु रोजाइ तपाईंको

आग्रह हाम्रो, मान्नु नमान्नु रोजाइ तपाईंको
सुन्नुहोस्

राजनीतिमा रुनुको कुनै अर्थ छैन र महत्व पनि छैन । हामीले यदाकदा मान्छेलाई भन्ने गर्छौं ‘बल्ल खाइस् मंगले, आफ्नै ढंगले । राजनीतिमा गल्ती गरेँ भनेर छुट पाइन्न । राजनीतिमा ढंग नपुग्न सक्ला तर गल्ती हुँदैन । किनभने राजनीतिमा सबै काम सोचविचारपश्चात् निर्णयमा पुगेर मात्रै गरिन्छ । राजनीतिमा गल्ती गर्ने ठाउँ नै हुन्न । त्यसकारण यदि कसैले बेठीक काम गर्छ भने त्यो सुबिचारित कृत्य हो, गल्ती होइन ।

भ्रष्टाचार गर्नु हुँदैन, कमिशन खानु हुँदैन, संविधान मिच्नु हुँदैन, अदालतको फैसलालाई मान्नुपर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि यदि कसैले यसको बर्खिलाप गर्छ भने त्यसलाई नजानेर हुन गएको गल्ती मान्न सकिन्न, त्यो जानीजानी गरिएको कुकृत्य हो । त्यसकारण त्यस्तो कार्य माफीलायक हुँदैन, दण्डभागी हुन्छ । 

अहिले प्रचण्ड, ओली र माधव कमरेडहरू सत्तामा हुनुहुन्छ । सत्तामा रहँदा पनि उहाँहरू सन्तुष्ट र खुशी हुनुहुन्न । खासगरी एमाले अध्यक्ष त एकदमै बेखुशी हुनुहुन्छ । पटक–पटकको संसद विघटन र नेकपालाई विभाजन गराउने काममा जुन भूमिका रह्यो सोही कार्यले उहाँलाई सत्ताबाट बेदखल गरेको हो । उहाँ सत्ताबाट बेदखल त हुनु नै भयो अरू धेरैलाई विभिन्न तहको सत्ताबाट बेदखल गराइदिनुभयो ।

यो कार्य कमजोरी होइन, ब्लण्डर हो त्यसकारण क्षमायोग्य छैन । यस्तो किन गरें भनेर इतिहासको कठघरामा उभिई उहाँले देश र जनतालाई जवाफ दिनै पर्छ । एमाले र ओली कमरेड आफ्नै कामको दुष्परिणामले सत्ताच्युत हुन पुग्नुभएको हो । अहिले फेरि जुनसुकै तरिकाले भए पनि एकपटक पुनः प्रधानमन्त्री बन्नुपर्छ भनेर लागिरहनुभएको छ । उहाँको यो छट्पटीलाई हेरेर मान्छेहरूले भनिरहेका छन्् ‘बल्ल खाइस् मंगले आफ्नै ढंगले ।’

देश र जनताको आवश्यकता के हो आजको समयमा ? त्यो आवश्यकताको पहिचान गर्ने र त्यसलाई पूरा गराउने जिम्मेवारी कसको हो ? यस विषयमा एमाले, माके र नेकपा (एस)हरूले विचार गरिरहेका छन््, तिनीहरू उतिसाह्रै चिन्तित छन् भन्ने देखिन्न । एमालेमा ओली कमरेड कसरी प्रधानमन्त्री बन्ने भन्ने कुराको ठूलो चिन्ता देखिन्छ । माकेमा प्रचण्ड कसरी राष्ट्रपति बन्ने भन्ने चिन्ता देखिन्छ । अरू त कौन पुछे खेसरीका दाल ! तर, यी दुबै अध्यक्षको चाहना भने एकदमै अपारदर्शी किसिमको, छली र धोकामा आधारित देखिन्छ ।

यस्तो षड्यन्त्रमूलक, धोका दिने राजनीति गर्नु हुँदैन । व्यक्तिगत हिसाबमा ओली, प्रचण्ड कति कम्युनिष्ट हुन् अथवा होइनन् कि पो ? यसबारे छलफल हुन सक्छ तर सिद्धान्तको हिसाबले, पार्टीको झण्डाका आधारमा तथा यिनका कार्यकर्ता र समर्थकलाई हेरेर सहजै भन्न सकिन्छ यी दुबै कम्युनिष्ट विचारधारा बोकेका दल हुन् । हामीलाई विश्वास भएको कुरा के हो भने जनताको मुक्ति कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव छ । यदि, यी दुबै कम्युनिष्ट पार्टी हुन् भने ती कस्तो हुनुपर्छ त ? यी दुबै दल पानीजस्तो छन् भन्दा हुन्छ, जुन भाँडोमा खन्यायो त्यही भाँडोको आकारमा देखिने अर्थात् वामपन्थी भने पनि मिल्ने, बुर्जुवावादी भने हुने र कतिपय सन्दर्भमा त दक्षिणपन्थी राजावादी भने पनि हुने । 

कुनै पनि दल वा अर्गनाइजेशन बलियो र सफल हुने भनेको सही विचार, सही संगठन र उसको आन्तरिक एकताले नै हो । फुटेर, एकापसमा झगडा गरेर, एकार्कालाई बदनाम गरेर, गाली गरेर, हेपेर, तिरस्कार गरेर पार्टीलाई एकताबद्ध र बलियो बनाउन सकिन्न । आफू एकताबद्ध नभइकन अन्य पार्टीसँग पनि सहकार्य वा एकता गर्न सकिन्न । आफू आफू नै पनि नमिल्ने र अन्य मित्रशक्तिसँग झगडा गरिरहने हो भने कसरी सहकार्य गर्न सकिन्छ ? पार्टीभित्र र पार्टी बाहिरकासँग पनि झगडा गरिरहने र छुट्टाछुट्टै चुलो बालेर बसेपछि बहुमत ल्याउन सकिएला त ? जनताले पत्याउलान् त ? कार्यकर्ता र समर्थक जनतामा उत्साह र जाँगर जाग्ला त ? जाग्दैन ।

आजको आवश्यकता भनेको पार्टीको आन्तरिक एकता बलियो बनाउने र कम्युनिष्ट विचारधारा बोकेका दलहरू, यसका नेता र कार्यकर्ताबीच पनि मेलमिलाप गर्ने, सहकार्य गर्ने र सम्भव भए एकता नै गर्ने हो । सकिन्छ भने एकता गरेर ठूलो दल बनाउने, नभए (एकआपसमा सहकार्य) गर्न सक्ने वातावरण बनाउने कामको अगुवाइ गर्ने जिम्मेवारी ओलीको हो, प्रचण्डको हो र माधवको हो । हुन त अरूको पनि काम हो तर पदीय हिसाबले प्रमुख जिम्मेवारी त उहाँहरूकै हो । यस्तो हो भनेर मानिसकेपछि हामीले सोध्नुपर्छ– तपाईंहरूले आ–आफूको बीचमा रहेको असमझदारी, मनमुटावलाई हटाउन के–कस्ता प्रयत्न गरिरहनुभएको छ त ? जनता वा कार्यकर्ताको चाहनाले हुन्छ र ? हुन्न नि ! तपाईंहरू भित्र रहेको तुष नमेटिएसम्म आपसी समझदारी पनि बन्दैन, सहकार्य र एकता हुन पनि सम्भव छैन ।

यस्तो तीनमुख लिएर चोसो पसार्दै हिँड्दा चुनावमा जित्न र प्रधानमन्त्री र राष्ट्रपति बन्न सम्भव होला ? आजको दिन ठूलो पिर्कामा ओली कमरेड हुनुहुन्छ । प्रचण्ड, माधव र अरू पनि हुनुहुन्छ । नेकपाको विभाजन, एमालेको विभाजनले कम्युनिष्ट आन्दोलनलाई कति हानि हुन गयो ? नेताहरू स्वयंलाई पनि राजनीतिक हिसाबले कति नोक्सानी पुग्न गयो भन्ने कुराको हेक्का त होला नै ! यो अठ्ठाइस तीस महिनामा एमालेका तीन लाख कार्यकर्ता लाखापाखा लागेछन् । यो सानो होइन, डरलाग्दो कुरा हो पार्टीको निम्ति । आ–आफ्नो मनभित्रको तुषलाई समाप्त गरेर देश र जनताको हित निम्ति मिल्ने काम गरेमा भोलि जनताले पुनः भरोशा गर्नेछन्, चुनावमा जिताउनेछन् र सत्ता पनि सुम्पिनेछन् । भाइको रिसले घरै आगो लगाइदिने हो कि समझदारी र मेलमिलाप गरेर घरलाई थप मजबुत बनाउन पहल गर्ने हो ?

अन्त्यमा, हामीले त भन्ने मात्रै हो, बताइदिने हो हाम्रो काम, कमीकमजोरी औँल्याइदिने हो । सारमा भन्नुपर्दा हाम्रो काम भनेको डढेलो लागेको जंगलको आगो निभाउन कोइलीले नदीबाट आफ्नो ठुँडमा पानी लगेर खन्याई आगो निभाउने प्रयास गरेजस्तै हो ।

हाम्रो भनाइले सहकार्य, समझदारी अथवा एकता त नहुन सक्छ । इतिहासले सबैको मूल्यांकन गर्छ नै ! हामीलाई के पिर छैन भने कम्तीमा पनि हाम्रो नाम झगडा गर्ने, फुट ल्याउने र आन्दोलनलाई तहसनहस पार्नेहरू भनेर लेखिने छैन, मिल्नुपर्छ भन्नेहरू हुन् भनेरै लेखिनेछ । अतः छनोट आआफ्नो हो कमरेड, इतिहासको कुन कित्तामा उभिने ? आगो लगाउनेको कित्तामा कि आगो निभाउनेको कित्तामा ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू