छात्रा ताक्ने गुरू अनि बल्ल जेल गए

छात्रा ताक्ने गुरू अनि बल्ल जेल गए
सुन्नुहोस्

एकातिर दैनिकजसो बाल यौन हिंसा र बलात्कारविरुद्धको सचेतना अभियान । अर्कोतिर दैनिकजसो हुने यौन हिंसा, दुव्र्यवहार र बलात्कारका घटना । पढेलेखेका र कानुन जानेका भन्नेहरू नै त्यस्ता आपराधिक घटनामा संलग्न रही पक्राउ परेका दुई पात्र हुन् कोइराला र घिमिरे । छोरोभन्दा पनि कच्चा उमेरकी विद्यार्थीलाई कपाल पाकेको शिक्षक भगु कोइरालाले पटकपटक करकापमा पारी करणी गर्छ भन्ने विश्वास कसलाई हुन्छ ? तर, भयो त्यस्तै, सुन्दरबजार–१ घर भई केही वर्षदेखि स्थायी रूपमा सुनपा–९ फेदीकुना बस्दै आएका मस्र्यांदी गाउँपालिका–५ घेर्मुको गंगामिलन माविका शिक्षक भगु कोइराला सोही स्कूलमा ९ कक्षामा अध्ययनरत १३ वर्षकी छात्रालाई करणी गरेको अभियोगमा वैशाख २७ गते पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ती शिक्षकले मसिर २८ गते राति ११ बजेतिर पीडित छात्रालाई बोलाएका थिए । कोइराला स्कूलको होस्टलमा बस्ने । छात्रा ट्युसन पढ्न भनेर होस्टल नजिकैको घरमा कोठा लिएर बस्ने । परीक्षाको मुखमा शिक्षकले सिकाइदिने भनेर बोलाएपछि कोइराला बस्ने होस्टल कोठामा पुगेकी छात्रालाई उनले एक्कासि झम्टिए । रुँदै गरेकी छात्रालाई परीक्षामा पास गरिदिने, नम्बर धेरै दिने भन्दै सम्झाए ।

पीडित बालिकाको असामान्य अवस्थापछि शिक्षक एक्कासि स्कूल छाडेर भागे । शंकाको लहरो तन्कियो । बालिकाकी आमाले फकाई फकाई सोधपुछ गर्दा मात्रै घटना उजागर भएको थियो । घटना बाहिरिएसँगै केही मान्छेले भित्रभित्रै मिलाउन प्रयास गरे । बालिकाकी आमाले चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दरखास्त दिइन् ।

प्रतिवादी कोइराला लुकेर सम्पर्कविहीनजस्तै थिए । तर, पीडित बालिकाले कतै उजुरबाजुर गर्दिनँ, आउनु मिलौँ भनेर फकाएपछि काठमाडौंबाट आएर प्रहरीको फन्दामा परे । प्रहरीमा उनले आफ्नो कर्तुतलाई इन्कार्न सकेनन् । हो हजुर, बुद्धि बिग्रियो, गल्ती गरियो भने । 

कोइराला शिक्षक मात्र नभएर । एउटा कर्मकाण्डी पण्डित पनि छन् । ५/७ वर्ष साउदी बसेर फर्केपछि नेपालीमा डिग्री गरेका उनी गंगामिलन माविमा शिक्षक बनेका थिए । कोइरालाले आफ्नै घरमा डेरा गरी बस्ने स्थानीय एक निजी स्कूलमा पढाउने शिक्षिकालाई समेत सामाजिक सञ्जालमा अनेकौँ यौन आशक्तियुक्त म्यासेज पठाएपछि ती शिक्षिकाले तर्साएकी थिइन् । 

उता, मध्यनेपाल नगरपालिका– ४ का ४६ वर्षीय नवराज घिमिरे यही वैशाख २७ गते साढे तीन बजेतिर कक्षा ६ मा पढ्ने एक सुस्त मनास्थितिकी १४ वर्षकी बालिकालाई स्कूलबाट घर फर्कंदै गर्दा नजिकैको जंगलमा लगी करणी गरेको आरोपमा पक्राउ परेका छन् । 

पीडित बालिकाकी हजुरआमा ५६ वर्षीया सन्तमाया गुरुङका अनुसार घिमिरेले नातिनीलाई बिस्कुट, चाउचाउ दिएर मध्यनेपाल–७ स्थित भीरबारी जंगलतर्फ लैजाँदै गरेको छिमेकीलाई फोनमार्फत जानकारी गराएका थिए । पिछा गर्दै जाँदा घिमिरेले जंगलमा करणी गरेको देखेपछि स्थानीयले नै प्रहरी र आफन्तलाई खबर गरिदिए । 

घिमिरेका परिवार चितवन बस्ने । बाहुनको छोरो २४सै घण्टा जाँडले मातीहिँड्ने । घरपरिवार आजित । ऊ कहिले काठमाडौं, कहिले गाउँ । सो दिन पनि रक्सीले मातेका घिमिरेले सुस्तमनस्थितिकी बालिकालाई ललाईफकाई पञ्जामा पारे । बालिकाको आमा काम विशेषले पोखरा र बाबु जागिरको सिलसिलामा भारत । हजुरआमाको रेखदेखमा हुर्किएकी उनलाई एकान्तमा एक्लै पारी घिमिरेले करणी गरेको भन्दै सन्तमायाले प्रहरीमा उजुरी गरेकी हुन् । घटनाकै दिन पक्राउ परेका घिमिरे जिल्ला अदालतबाट यही २८ थप अनुसन्धानका लागि एक हप्ताको म्याद थपी प्रहरी हिरासतमा छन् ।

–अञ्जनकुमार

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू