सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट

सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । 

आज अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर लामिछानेको भिसा रिजेक्ट भएको हो । टी-२० विश्वकप खेल्ने तयारीमा रहेका उनलाई  यसअघि जेठ ९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।  

त्यसपछि सरकारले कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । 

अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप पर्सिबाट शुरु हुँदैछ । तर, भिसा नलागेपछि सन्दीप भने अमेरिका जान पाएका छैनन् । जसका कारण नेपालले खेल्ने अभ्यास खेल छुटिसकेको छ । 

सन्दीपलाई भिसा नदिएको विरोधमा एउटा समूहले काठमाडौँ प्रदर्शन गरिरहेको छ । राप्रपाका नेता तथा सांसद ज्ञानबहादुर शाहीले नेतृत्व गरेको सो समूहले हिजो प्रधानमन्त्री निवास बालुवाटार अगाडि अमेरिका र सरकारविरुद्ध चर्को नाराबाजीसहित धर्ना दिएको थियो ।

जबर्जस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेसँगै क्रिकेटबाट बाहिरिएका सन्दीपलाई गत जेठ २ गते उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले राष्ट्रिय टोलीमा समावेश गरेको थियो ।

टिप्पणीहरू