‘घण्टी’ र ‘रुद्रघण्टी’हरूको यो हदसम्म दादागिरी

‘घण्टी’ र ‘रुद्रघण्टी’हरूको यो हदसम्म दादागिरी
सुन्नुहोस्

फेसबुकका भित्तामा काठमाडौँ महानगर प्रहरीका पूर्व हाकिम लोकनाथ चुडालको असन्तुष्टि सुनेँ । मंगलबार बिहान मात्रैै फेसबुकमा देखिएको त्यो भिडियो अलि पुरानै रहेछ तर विषयवस्तु पुरानो भएको थिएन । उनले बोलिरहँदा एकजना ज्येष्ठ नागरिकलाई केही अधवैँशेले नियन्त्रणमा लिएर जुत्ताको माला लगाउँदै थिए । चुडालले भनेका छन्, ‘दुर्गा प्रसाईंको विरोध गर्दा पशुपति मन्दिरमा ६५ वर्षका ज्येष्ठ नागरिकलाई एकान्त पारेर २८–३० वर्षका ५–६ युवाले यस्तो हर्कत गरे ।’ ती ज्येष्ठ नागरिक हिन्दू अनुहारकै थिए । गणतन्त्रको १७ औँ उत्सवमा देश र जनता रमाइरहँदा पशुपतिमा हिन्दूलाई जुत्ताको माला लगाउने दृश्यले मन निकै भक्कानियो । पछिल्लो समय देश ठूलो कि दुर्गा प्रसाईं भन्ने परिरहेको छ । कहिले ‘सन्दिप लामिछानेलाई अमेरिका जाने राहदानी मिलाइदिन्थेँ, मकहाँ आएनन्’ भन्छन् । कहिले ‘को को आउने मकहाँ, एउटा–एउटा घर बनाएर राखिदिन्छु’ भन्छन् । उनले बोलेको बेचेर केही प्रचारक र सञ्चारकको रोजीरोटी चल्दा स्वास्नी–छोराछोरी त पालिएको होला, तर हामी कस्तो सन्देश दिन खोज्दै छौँ र वाक स्वतन्त्रताका नाममा कस्तो छाडापन, आडम्बर र गुण्डागर्दी संस्थागत गर्दैछौँ भन्ने विषयमा सोच्ने कि नसोच्ने ?

चुडालका अनुसार, ती ज्येष्ठ नागरिकको गल्ती दुर्गा प्रसाईंविरुद्ध मात्र बोल्नु हो । उनले दुर्गा प्रसाईंमाथि प्रश्न गरे । त्यसको कारबाही पशुपति परिसरमा एउटा हिन्दू ज्येष्ठ नागरिकलाई जुत्ताको माला लगाउँदै ‘हाम्रो स्वास्नी, छोराछोरी पाल्नेलाई यसो भन्छस्’ भन्ने थियो । के तपाईंमाथि प्रश्न गर्न नहुने हो ? तपाईंले सबैलाई गाली गरिरहँदा ताली मात्रै बजाउने ‘चम्चाबस्ती’ हो यो देश ? कति छन् तपाईंका यस्ता चरिचुच्चे गुण्डाहरू ? जो बाबु उमेरका ज्येष्ठ नागरिकलाई पशुपति मन्दिरमा जुत्ताको माला लगाइरहेका छन् । यो वाक स्वतन्त्रता, म, मेरो बुबा पुस्ता र छोरा पुस्ता लडेर तपाईंको गुण्डागर्दी संस्थागत गर्न ल्याइएको होइन । बोल्न पाउनु पर्छ, कसलाई कारबाही गर्ने भन्ने अड्डाअदालत नै तपाईंको हेडक्वार्टर हो भने यो विस्तारै ढल्छ, जोगिएर हिँड्नुहोला, संघीय राजधानीमा एउटा युवादस्ताको मोसोको पहिलो भेटको स्वाद चाखिसक्नु भएको छ । तर म यसको सर्वथा विरोधी हुँ । यो गलत काममा महेश बस्नेतका नाममा समर्थन जनाउन सक्दिनँ ।

यसो भनिरहँदा केहीदिनअघि मनैले लिजेन्ड मानेको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित अग्रज कलाकारहरूको समूह भएका ठाउँमा पुगेपछि एउटा फोटो खिचियो । फेसबुकमा हालियो । सम्मान हो । श्रद्धा हो । उहाँहरूले धेरैको स्वास्नी, छोराछोरी पाल्ने काम गरिदिनु भएको छ । तर दुर्गा प्रसाईंका जस्ता हाम्रा ‘मह’लाई केही भन्छस् भनेर कुस्ती खेल्ने दस्ता जोगाड छैन । कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ प्रकरणकै प्रसंगको छलफल थियो । फरक टेबुलमा फरक दृश्य थिए । फोटो खिच्यौँ । पछि उहाँहरूले पनि सिरोहियाबारे प्रतिक्रिया दिनु भएछ । सञ्चारमाध्यमले आफ्ना पक्षमा समर्थन खोज्छ । हरआन्दोलनमा सन्देशबाहक ‘महजोडी’बारे यसपछि यति भद्दा मजाक भयो । ‘यिनीहरू किन बाँचेका’ भनेरसम्म हुर्मत लिने काम भयो । एउटा स्रष्टाले के यो देशको घटनाबारे प्रतिक्रिया दिन फेसबुक चलाउनेहरूसँग डराउनु पर्ने गरी १७ औँ गणतन्त्र दिवस मनाइरहेका हौँ हामी ?

अष्ट्रेलिया पुगेर उहाँहरूले माफी माग्दै ‘अदालतको विषयमा नबोलेको भए हुने, हतारोमा पर्‍यौँ, माफ दिनुहोस्’ भन्नु भएछ । यतिखेरसम्ममा कान्तिपुरलगायत सिरोहियाको पक्षमा बोल्नेहरूको फेसबुकलगायत सामाजिक सञ्जालमा यो देशका प्रवुद्ध भनिएका ज्ञात अज्ञात राष्ट्रवादी नेपालीहरूले शोक मनाइरहेका थिए । जसलाई श्रद्धा गरेर शिर निहुराउनु पर्ने हो, उनीहरूले भीडका पक्षमा बोलेनन् भनेर श्राद्ध गर्न तयार थिए जमात । उनीहरूले मिल्ने भए श्रृंखला खतिवडाको ‘मीस नेपाल’को ताज खोसिसक्थे । महलाई ‘मरोस्’ भनेर चार/पाँचदिनदेखि जुठो बारेझैँ भइसकेका थिए । महोदयहरू, के यस्तै देश बनाउन खोजेका हौँ तपाईं–हामीले ?

अर्को खबर आयो, काठमेयर बालेन्द्र साहले मन्त्रालय कि कता दैनिक एक ट्रक धुलो झारिदिने रे । मुखियालाई मन लागेपछि बाटै छेक्ने, काठमाडौँ आउनै रोक्ने ? यो कुन स्थानीय शासनभित्र पर्छ ? तपाईंलाई यो काठमाडौँ राजधानी मन परेको छैन भने भन्नुहोस्, मलाई पनि मन परेको छैन । धेरैलाई मन परेको छैन । पृथ्वीनारायण शाहले २६० वर्षअघि बनाएको राजधानी फेर्ने बेला भएको छ । र, यतिखेर राजधानीमा तपाईंको शासन चल्ने हो भने ठीक छ, मन्त्रिपरिषद्लाई एउटा दबाब दिन हामी ‘अकुपाई गणतन्त्र’ चलाएर बनेपा, वीरगञ्ज, नारायणगढ, मुग्लिन र महोत्तरीको बर्दिबासबाट सात दिनजति गाडी छिर्न रोकिदिऊँ त ? राजधानी चितवन सारौँ, मकवानपुरमा पारौँ, नभए सिन्धुलीको दुधौलीतिर ठाउँ छ, मधेशमा त जताततै खाली जग्गा छ, सबैलाई दुःख पाउनै मन छ भने अथाह जग्गा कपिलवस्तुमा छ, त्यहाँ सारौँ, बालेनको शहरलाई मेट्रोमा झारौँ भनेर हामी आन्दोलनमा जान तयार छौँ । दुई दिन सार्वजनिक बिदा भए इन्धनको हाहाकार हुने तपाईंको शहरले के दिएको छ नागरिकलाई ? सास फेरेको पनि पैसा तिरेका छन्, दलाली र दलालहरूको फलिफाप यो शहरलाई राजधानीमुक्त बनाउने अभियानमा हाम्रो पनि साथ छ । आँट गर्नुहोस्, काठमाडौँको राजधानी मकवानपुरबाहेक कपिलवस्तु र सिन्धुली पुर्‍याउनु हुन्छ भने पनि खटिन तयार छौँ, कति लिएर आऊँ युवापुस्ता ? तर यो शक्तिको सनक आवारा पुँजावादी चरित्र नदेखाउने गरी गणतन्त्रमा व्यवस्था होइन व्यवस्थापक फेरौँ भनेर हामीले रुचाएको मेयर होइन र तपाईं ? काठमाडौँ होइन बालेन शहर भनेर लेखेका छैनौँ र हामीले ? 

हिजो पञ्चायत थियो, गुण्डा नै हावी थिए । त्यसअघि २०१७ तिर हजुरबाहरूको पालामा कांग्रेसको गुण्डागर्दी थियो । कसैलाई सराप्न परे भन्थे, ‘तेरो घरमा कांग्रेस पसोस् ।’ व्यवस्थामा अनेक अनेक नानीमैयाँहरू आए । पछि माओवादीको पालामा भन्न थाले, ‘गोरु पनि लुटेर लगे ।’ अहिले डिजिटल युग आयो, फेसबुकका फलोअर लुट्न थाले । आखिर जुन व्यवस्था आए पनि लुटेराहरूकै हालिमुहाली साम्राज्य बनाइरहने हो देश ? अमेरिकी दूतावास ठूलो कि दुर्गा प्रसाईं ? संघीय सरकार ठूलो कि बालेन्द्र साह ? एउटा कम्पनी दर्ता गरेर काम गर्नेहरू शेयर, श्रममा लुटिएकै थिए, अब सिध्याऊँ भनेर सामाजिक सञ्जालबाट हुर्मत लिने, उसले दुःख गरेर जुटाएको जनमत भड्काउने र फलोअर हुनसमेत रोक्ने यो कुन शासनको वकालत र अभ्यास हुँदै छ देशमा ? जातका नाममा, धर्मका नाममा, सम्प्रदायका नाममा पारिवारिक विखण्डन गराएर विदेशीहरूको रणसंग्राम भयो भन्दै फेरि डिजिटल युगमा समेत हमला गर्दा हामीले खोजेको वाक स्वतन्त्रता हो कि छाडापन ? तपाईंको कुरा मलाई मन परेन भनेर विमति राख्नेबित्तिकै मेरो धनसम्पत्ति (फेसबुक, ट्विटर फलोअर) लुट्ने, मलाई हार्दिक श्रद्धाञ्जली दिइहाल्ने ? दिनुहोस्, तर म जिउँदै छु, मारिएँ भने तपाईंहरूबाटै त होला ! यही दिनका लागि ‘बेबीकिङ्ग’ होइन ‘गणतन्त्र’ भनेर हामीले थप ३ दिन देशमा आन्दोलन गरेका थियौँ भनेर बुझौँला–सहौँला, ‘मह’ले त माफी माग्नुपर्ने देशमा अर्को नयाँ शक्ति ढिलोचाँडो आउँछ नै, त्यतिखेर तपाईंको पनि यही हालत होला । भन्ने गर्छन् नि, ‘पाप धुरीबाट कराउँछ ।’ पहिलाजस्तो छैन, अचेल । आफ्नै पालामा कराउँछ । समाज र सामाजिक सञ्जालमा प्रश्न मात्रै गर्न पर्ने, दायित्वबोध नहुने र हुलको शासन मच्चाउने समूहहरूका कारण कतै देशको प्रगति रोकिएको त छैन ? मन नपरे बाटै बनाउन नदिने, खेल खेल्नै नदिने, बोल्नै नदिने ? प्रतिपक्षीले सफाइको मौकै नपाउने र माफी मात्रै माग्नु पर्ने गणतन्त्र होइन, यो गणतन्त्रमा भयंकर त्रुटि हो । सच्याउन लागौँ नत्र काल पल्किएको हो, यसले सबलाई ‘श्रद्धाञ्जली’योग्य मात्र बनाउँछ, उँभो लगाउँदैन । गणतन्त्र दिवसको शुभकामना ! 
 

टिप्पणीहरू