बालेनको मुटु : सिसडोललाई दुख्छ कुटुकुटु

बालेनको मुटु : सिसडोललाई दुख्छ कुटुकुटु
सुन्नुहोस्

आफ्नो गल्ती, कमजोरीलाई अर्काको थाप्लोमा हालेर चयनको बाँसुरी बजाउने खेलाडीका रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह देखिएका छन् । उनी सकेसम्म दोहोरो बोल्दैनन्, बोलेपछि राम्रो वा नराम्रो, सहजै आकलन गर्न सकिने हुँदा सामाजिक सञ्जालमा भ्रमपूर्ण स्टाटस राख्ने र त्यसैमार्फत आफ्ना १९ लाख फलोअर्सलाई परिचालन गर्नसफल भएको चर्चा छ । 

स्थानीय बलामी समाजले सिसडोलमा फोहोर थुपारिनेविरुद्ध निरन्तर  विभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका छन् । उनीहरूले स्थानीयलाई  जागिर लगाउनेदेखि विद्यालयलाई अनुदान दिनेलगायत माग राख्ने गर्छन् । आफ्नो घरआँगनदेखि दुर्गन्ध फैलाउँदै गाडी कुद्न थालेपछि त्यसबापतको क्षतिपूर्तिबापत माग राख्नु अनौठो होइन । 

बालेनले शपथ लिनुअघि बञ्चरे डाँडामा गएर फोहोर व्यवस्थापन नगरुञ्जेल फूलमाला नै लगाउँदिन भन्दै वाहवाही बटुलेका थिए । उनले  कार्यकालको २ वर्ष पुग्न लाग्दा पनि दोहर्‍याएर पाइला टेकेका छैनन् । फोहोरमैलाको व्यवस्थापन र अनुगमन पनि गरेका छैनन् । अहिले आएर जब सिसडोलवासीले फोहोरमैलाको समस्या उठाए त्यसलाई समाधान गर्नुको बदला अन्यत्र ध्यान मोड्न सडक विभागलगायत ठाउँमा फोहोर थुपार्न अघि सरेको पाइन्छ ।

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा लगेर फोहोर फाल्नु फोहोरको राजनीति गर्नु हो । आफ्नो कर्तव्य भुलेर ‘मायाको चिनो’ अन्यत्र पठाउनु  बलामी समाजको आन्दोलनलाई ओझेलमा पार्नु हो । न्युरोडको सडकलाई छोट्याएर सडकपेटी बढाउने अभियानलाई पनि अर्काे उटपट्याङका रूपमा लिइएको छ । महानगरले सैनिक अस्पतालदेखि जुद्धको शालिक भएसम्म सडक खुम्च्याउन र फुटपाथ बढाउन शुरु गरेको छ ।

यस्तै पाराले फुटपाथ बनाउँदै जाने हो भने काठमाडौंका सडक टुकुचाजस्तै मिचिने र हराउँदै जाने हुन सक्छ । सडक विभागको क्षेत्राधिकारभित्र भए पनि महानगरले औपचारिक रूपमा पत्र मात्र पठाउने र कुनै प्रतिउत्तर नआइकनै आपूmखुशी काम गर्ने गरेको आरोप छ । यसरी बाटो छोट्याएर आफूखुशी फुटपाथ बढाएपछि न्युरोडको गुल्जारपन नै प्रभावित हुने आकलनसहित वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन र स्थानीयहरू विरोधमा उत्रिएका छन् । फुटपाथ विस्तार गर्ने उनको यस योजना सडक विभागले नमानेपछि उसको अफिसअघि ‘मायाको चिनो’ थुपार्नुको रहस्य यसैमा लुकेको बताइन्छ । 

काठमाडौंका जनताले थुपारेको फोहोरले सिसडोलवासीलाई क्यान्सर दिएको छ भन्दै यो समस्या समाधान नगरुञ्जेलसम्म फूलमाला लगाउँदिन भन्ने बलेनले अहिले भने जताततै अबिरजात्रा गर्दै हिँडेका देखिन्छन् । तर, सिसडोलको समस्या जस्ताको तस्तै छ । टुकुचा खोतल्यो, अदालतको आदेशले रोकेपछि लथालिंग, सुकुम्वासी हटाउन डोजर लिएर गयो, त्यहाँ पनि असफल, सामाखुशी र कपनमा गएर डोजर चलायो त्यो पनि भताभुंग । भद्रा घलेको रगतपसिनाले ठड्याएको आश्रम भग्नावशेषकै रूपमा छ ।

यस्तो बेला मेयरले धरहराअगाडि चिटिक्क परेका बस बिसौनीलाई सामाजिक सञ्जालमार्फत पोष्ट्याउने गर्छन् । पलोअर्सहरू त्यसैमा ‘मेयर बालेनका चिटिक्क, झिलिमिली शहर’ भन्दै रमाउँछन् । यी सबै काम मेयर बालेनको योजनाभित्रका होइनन्, यी गर्न महानगरले कुनै नक्सा बनाएको छैन । जानकारहरुलाई थाहा छ, यी काम बृहत् धरहरा क्षेत्र विकास कार्यक्रमअन्तर्गत नेपाल सरकारले सम्पन्न गरेका हुन् ।

सामाजिक सञ्जालमा एउटा समूह छ जसले कतै केही छिरिक्क गर्नासाथ ‘ल है बालेनले मुटु लग्यो’ भन्दै लेख्न थाल्छ । बालेनले सर्वाधिक चर्चा बटुलेको क्षेत्र भनेको भत्काएर नै हो । भद्रा घलेको आश्रम, टुकुचा, कपन, सामाखुशी र सिसडोललगायत ठाउँ लथालिंग छन् । तर, उनी चतुर छन्, लेख्छन्– सबै नेता चोर ! त्यसपछि उनका सबै कमजमेरी बिर्सिएर छानबिन नै नगरी जनता वाह बालेन, फेरि मुटु लग्यो भन्दै सामाजिक सञ्जालमा कमेन्ट थपिदिन्छन् । यति भएपछि मेरो काम चल्छ भन्ने हिसाबले निर्माणको तुलनामा विध्वंसक काममा अग्रसर भएको देखिन्छ । 

कतिपय सर्वसाधारणले बालेनको कदमको तारिफ गरेका छन् । तर राजनीतिक विश्लेषकहरु भने जनताले परम्परागत दलहरुको विकल्पमा चुनेका मेयरको शैलीले विधिको शासनभन्दा अराजकतालाई बल दिने चिन्ता व्यक्त गर्छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू