म्याडम माननीय अझै फरार,सहकारीका अरुलाई कारागार

म्याडम माननीय अझै फरार,सहकारीका अरुलाई कारागार

३२ सय नौ जनाको वचत रकममध्येबाट ज्वाईं नगेन्द्र रिमालसङ्ग मिली ९६ करोड रुपैयाँ बर्दियास्थित आफ्नो कृष्णसार रिसोर्टमा लगेवापत पक्राउ पुर्जी जारी गरिएकी राप्रपा संघीय सांसद  गीता बस्नेत फरार रहेकै बेला नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित छिपछिपे सहकारीको रकम हिनामिना गरेको अभियोगमा अध्यक्ष,सचिव,लेखा संयोजक,ब्यवस्थापक,लेखापाल सहित १० जनालाई जिल्ला अदालतले आज थुनछेक आदेश दिएको छ । उक्त सहकारीको रकम अपचलन गरेको मुद्धा परेपछि प्रहरीले पक्राउ गरेकामध्ये जिल्ला अदालतले पुर्पक्षको लागि ७ जनालाई थुनामा पठाएको छ भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश कुलप्रसाद पाण्डेको ईजलासले अभियुक्तहरु योगेन्द्र पाण्डे,शिवलाल लामिछाने,नगेन्द्रबहादुर रिमाल, ढुन्डीराज गौतम,कृष्णप्रसाद ज्ञवाली, सञ्जिवकुमार महतोलाई पुर्पक्षकोलागि थुनामा पठाएको हो । यसैगरी  सुनिताकुमारी न्यौपाने र गोपीकृष्ण शर्माबाट जनही २ लाख ५० हजार धरौटी र तीर्थराज पैनीसङ्ग १० लाख धरौटी माग गरिएको छ । 

छिपछिपे सहकारी सन्चालक समिति अध्यक्ष पाण्डेले नक्कली खाता बनाई सहकारीमा सर्वसाधारणले गरेको बचत रकम अपचलन गरेका थिए । उनले सहकारीको नामबाट ई-सेवा दर्ता गर्नुपर्नेमा त्यसो नगरी आफ्नो व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरेको,कसैले ई सेवामार्फत रकम जम्मा गर्दा उनको खातामा जम्मा हुने गरेको देखिएको छ ।

"उनले सहकारीको नामबाट ई-सेवा दर्ता गर्नुपर्नेमा त्यसो नगरी आफ्नो व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरेको,कसैले ई सेवामार्फत रकम जम्मा गर्दा उनको खातामा जम्मा हुने गरेको देखिएको छ ।*

यसैगरी नमस्ते सेभिङ एन्ड क्रेडिट खाता सन्चालन गरी २०७८ असार ३१ गते ५० लाख निकासा गरेको देखिएको छ । उता सनराइज सेभिङ एण्ड क्रेडिट नामक नक्कली खाता बनाई ८ लाख २६ हजार ८ सय २ रुपैयाँ अपचलन गरेको देखिएको छ । नमस्ते सेभिङ एण्ड क्रेडिट र सनराइज सेभिङ एण्ड क्रेडिट नामक खातामा रकम जम्मा गरेको भन्दै सहकारीबाट रकम निकासा गरेको भएता पनि ती नाम गरेका कुनै वित्तीय संस्थामा छिपछिपे सहकारीको रकम जम्मा गरिएको छैन । 

योगेन्द्र पाण्डे उक्त सहकारीका सन्चालक समितिका अध्यक्ष हुन् । यसैगरी नगेन्द्रबहादुर रिमाल सहकारीका सचिव हुन् भने ढुण्डीराज गौतम सहकारी सन्चालक समितीका सदस्य हुन् । कृष्णप्रसाद ज्ञवाली सन्चालक समिति सदस्य हुन् भने सञ्जिवकुमार महतो व्यवस्थापक छन् । 

तीर्थराज पैनी सहकारीका कर्मचारी हुन् भने गोपीकृष्ण शर्मा लेखा समिति संयोजक र सुनिताकुमारी न्यौपाने लेखापाल थिइन् ।

टिप्पणीहरू