अकुत सम्पत्तिसँगै यौन शोषण

अकुत सम्पत्तिसँगै यौन शोषण

पद र शक्तिको आडमा महिलामाथि यौन शोषण ! राष्ट्र सेवाका लागि खटाइएको विशिष्ट स्तरको कर्मचारीले एउटी अबला नारीमाथि गरेको अपराध हो यो । विकल पौडेललाई नचिन्ने कमै होलान् । राजनीतिक पहुँचको आडमा छोटो समयमै सफलता हासिल गरेका उनी भ्रष्टाचार गरेर अंकुत सम्पत्ति आर्जनमा दोषी ठहर भई जेल चलान भएका छन् ।  

यता, उनले आफूमाथि यौन शोषण गरेको भन्दै एक जना युवती न्यायको खोजीमा भाैतारिरहेकी छन् । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध अख्तियार चार वटा मुद्दा दायर गरेको छ । दुइटा मुद्दामा फैसला भए पनि दुइटा विशेष अदालतमै विचाराधीन छ । 

सोही क्रममा उनले विवाहको प्रलोभन देखाएर यौन शोषण गरेको भन्दै एक युवती अख्तियारको सम्पर्कमा पुगेकी थिइन् । कतैबाट न्याय नपाएपछि उनले अख्तियार गुहारेकी हुन् । ठुल्ठूला नेताको संरक्षणमा रहेर दर्बिलो बनेका पौडेलविरुद्ध जाहेरी लिन प्रहरी प्रशासन नै डराएपछि उनले अख्तियारमा लिखित बयान दिएकी थिइन् । त्यो बयानलाई अख्तियारले मिसिल संलग्नगरी विषेष अदालत समक्ष पेश गरेको छ ।

यता, अख्तियारले पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनीमा केही आशा पलायो । उनी टंगाल पुगिन् । तर, विशेषले यौन शोषणको मुद्दा आफ्नो क्षेत्राधिकारमा नहेर्ने भन्दै थन्काएको छ । विशेषका एक अधिकारीले अख्तियारबाट पत्र आएको पुष्टि गरे । उनी भन्छन्, ‘अख्तियारबाट मिसिल आएको पुष्टि गरे ।

अख्तियारले यौन शोषणबारे जानकारी लिन प्रहरी प्रभाग, मण्डिखाटारलाई सम्पर्क गरेको पाइएको छ । यौन शोषणबारे जाहेरी आए–नआएको सोध्न अख्तियारले फोन गरेको प्रभागका एक अधिकृतले बताए । ‘अख्तियारबाट एक महिनाअगाडि विकल पौडेलविरुद्ध यौन शोषणको जाहेरी परे–नपरेको भनी सोध्न यहाँ फोन आएको थियो । त्यसपछि कुनै सम्पर्क भएको छैन’, उनले भने । अख्तियारका प्रवक्ता नरहरि घिमिरे भने यस विषयमा बोल्न चाहेनन् ।
 

टिप्पणीहरू