कामदारको मृत्युपछि कावासोती नगरपालिकामा तोडफोड

कामदारको मृत्युपछि कावासोती नगरपालिकामा तोडफोड

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड भएको छ । ढल निर्माणको क्रममा नालामा पुरिएर तीन महिला कामदारको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय तोडफोडमा उत्रिएका हुन् ।

महेन्द्र राजमार्गको उत्तरतर्फ वडा नम्बर–२ को फलफूल चोकदेखि पूर्व नाला निर्माण गर्ने क्रममा खसेको माटोको ढिस्कोले पुरिँदा तीन महिला कामदारको मृत्यु भएको थियो । वडा नम्बर–५ लक्ष्मीनगर निवासी ५१ वर्षीय सेती राना, २६ वर्षीया तानमाया मस्राङगी र ३२ वर्षीया चमेली सिंजालीको ज्यान गएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आज नगरपालिकाले शोक बिदा दिएको छ । 

मृतकका परिवारलाई उचित क्षतिपूर्तिको निम्ति प्रतिबद्धता व्यक्त गरिएको छ । तर, सुरक्षा मापदण्ड अपनाउन पटक–पटक अनुरोध गर्दासमेत नगरपालिका र ठेकेदार कम्पनीको लापरबाहीका कारण उनीहरुले अकालमै ज्यान गुमाउनु परेको भन्दै स्थानीयले नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । 

आक्रोशित भीडले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अहिले आन्दोलनरत पक्षसँग वार्ता भइरहेको जानकारी दिए । उनले भने, ‘अहिले हामी वार्तामा छौं । छलफल हुँदैछ ।’

टिप्पणीहरू