सतर्कता केन्द्रको निर्देशनपछि बन्द ट्रायल सेन्टर खुले

सतर्कता केन्द्रको निर्देशनपछि बन्द ट्रायल सेन्टर खुले

झण्डै एक महिना अघिदेखि बन्द रहेका काठमाडौं उपत्यकाका ट्रायल सेन्टरहरु सञ्चालनमा आएका छन् । मापदण्ड नपुगेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले बन्द गराएका ट्रायल सेन्टरहरु खुलेका हुन् ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भक्तपुर, चाबहिल, ठूलो भर्याङ, गुर्जुधाराका यातायात व्यवस्था कार्यालयलाई पत्राचार गर्दै सेवा सुचारु गर्न निर्देशन दिएपछि यातायात व्यवस्था कार्यालय, भक्तपुरले नयाँ, वर्ग थप तथा रि–ट्रायलको राजश्व लिने जनाएको छ । 

त्यस्तै, गत जेठ ३ गते स्थगित भएको ए–के–बी का प्रयोगात्मक परीक्षा असार ६ गते हुने कार्यालयले जानकारी दिएको छ । सोही दिन भएको लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा असार ७ गते हुनेछ । जेठ ४ गते स्थगित भएको मेशिनरी उपकरणहरुको प्रयोगात्मक परीक्षा असार ४ गते हुने जनाइएको छ । 

कार्यालयका अनुसार नयाँ तथा वर्ग थपको लागि बायोमेट्रिक गरी राजश्व बुझाउन बाँकी रहेका सम्पूर्ण सेवाग्राहीले भोलि, असार २ र ३ गते कार्यालय समयभित्र राजश्व बुझाएर लिखित तथा प्रयोगात्मक परीक्षाको मिति लिनुपर्नेछ । सतर्कता केन्द्रले गत जेठ १ गते गरेको अनुगमनका क्रममा ती ट्रायल सेन्टर मापदण्डविपरीत सञ्चालन भएको पाएको थियो । 

त्यसपछि केन्द्रले सबै यातायात व्यवस्था कार्यालयलाई पत्राचार गर्दै ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन दिएको थियो ।
 

टिप्पणीहरू