घण्टीको लहर घटेकै हो त !

घण्टीको लहर घटेकै हो त !

‘त्यस्तो कुरा मसँग गर्दै नगर्नुस् । बाढी–पहिरो, राजश्वको कुरा गर्नुस्, शान्ति सुरक्षाको कुरा गर्नुस्, अरु थुप्रै विषय छन्, त्यो कुराचाहिँ म गर्दिनँ...!’

क्षेत्रीय सुरक्षा गोष्ठीका लागि बिहानै बिराटनगर पुग्दा गृहमन्त्री रवि लामिछाने यसो भन्दै थिए । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणसँग सम्बन्धित रहेर उनका छोरा सम्भव सिरोहियाले सामाजिक सञ्जालमार्फत गरेका टिप्पणीमाथि उनको प्रतिक्रिया माग्दा सञ्चारकर्मीसँग यसरी टक्टकिएका हुन् ।

आइतबार बिराटनगर विमानस्थलमा अवतरण भएदेखि साँझ फर्किंदासम्म उनीसँग घण्टीका कार्यकर्ताको ‘क’ सम्म देखा परेनन् । सुरक्षाकर्मी र सरकारी कर्मचारीबाट घेरिएका उनलाई मिडियाले त खोज्ने नै भए । तर, मागिएको जवाफबाट पन्छिँदै कार्यक्रमस्थलतर्फ लागे । कर्मचारीहरू चर्चा गर्दै थिए, ‘कुनै दिन मस्त निद्रामा परेका सिडिओलाई फोन गरेर तपाईंले यसको जवाफ अहिले नै दिनुपर्छ भन्दै हायलकायल पार्ने रवि आज आफूले जवाफ दिनुपर्ने भएपछि पन्छिँदै हिँड्नुपरेको छ ।’

गृह र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा समिति, प्रदेशका सुरक्षा प्रमुख, राजश्व सचिवसहित, आन्तरिक र भन्सारका प्रदेश कार्यालय प्रमुख सहभागी उक्त गोष्ठीमा रविले सानो कुरा गरेनन् । उनको दावी थियो, गृहमन्त्री भएपछि भन्सार राजश्वको असुलीमा २० प्रतिशतले सुधार आयो । अनि भने, ‘सर्वसाधारणले एउटा सामान्य कामका लागि जिल्ला प्रशासन, राजश्व कार्यालयहरूमा तीन दिनसम्म लाइन लाग्नुपर्छ । तर, त्यही काम कुनै नेताले भनिदियो भने तुरुन्तै हुन्छ । अब यस्तो कुरा बन्द गर्नुस् । नेताले भन्दैमा कसैको काम छिटो हुने, नेतासँग पहुँच नहुनेले दुःख पाउनुपर्ने काम बन्द गर्नुस् ।’

गोष्ठीमा विभिन्न सीमावर्ती नाकाबाट हुने चोरी निकासी घटाउने, आर्थिक वृद्धिदर कायम गर्ने, रणनीतिक योजनाअनुसार ती कुरा लागु गर्नेजस्ता विषयमा छलफल भएको थियो । भन्सार र आन्तरिकतर्फको राजश्व असुलीमा सरकारले तय गरेको कूल राजश्व लक्ष्यभन्दा निकै कम छ । तर, रविले चाहिँ संकलित राजश्वमा २० प्रतिशतको वृद्धिलाई आफ्नो कार्यशैलीको परिणाम भनिरहेका थिए । 

गोष्ठीमा राजश्वलाई लक्ष्यित गर्दै भन्सार अनियमितता रोक्न प्राविधिक उपकरण जडान गर्ने कुरा उठेको थियो । सिसिटिभीभन्दा पनि अत्याधुनिक प्रविधि जडान गरी नाकामा आउने–जाने मान्छेलाई स्क्यानिङ गर्नेजस्ता प्रसंग कोट्याएका थिए । सुरक्षातर्फ कोशी प्रदेशमा पहिचानवादी र धार्मिक गतिविधिलाई चुनौतिका रुपमा ठहर गरियो । रविले अवैध क्रसर व्यवसायलाई बन्द गर्ने र त्यसलाई कसरी वैधानिक बनाउने भनी कुरा कोट्याए । विपद व्यवस्थापनका लागि सबैलाई तयार रहन भन्दै सम्पत्तिको स्रोत र संरक्षणका विषयमा पनि चर्चा गरे ।

रविका अघिल्ला भ्रमणमा जसरी उनका समर्थक र पार्टी कार्यकर्ता विमानस्थलदेखि नै घण्टी बोकेर ओइरो लाग्थे, यसपटक बिराटनगरमा त्यस्तो देखिएन । कर्मचारीहरू भन्दै थिए, ‘घण्टीको लहर घटेकै हो त !’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू