'फ्लोर क्रस' गर्ने माननीयले दुबै पद गुमाए

संसदीय दलको निर्देशन अवज्ञा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका सांसद फणीन्द्र देवकोटा पदमुक्त भएका छन् ।
प्रदेशसभाको आज बसेको बैठकमा सभामुख कृष्ण धितालले उनी पदमुक्त भएको सूचना पढेर सुनाएका हुन् । उनीमाथि राजनीतिक दल सम्बन्धी ऐन उल्लङ्घन गरी दल त्याग गरेको आरोप छ ।
नेपाल समाजवादी पार्टी (नेसपा)का नेता देवकोटा गत निर्वाचनमा माओवादी केन्द्रको चिन्हमा गोरखा २ (क)बाट निर्वाचित भएका थिए । माओवादीको चिन्हबाट चुनाव जितेकाले कानुनत: माओवादीकै संसदीय दलमा उनको आवद्धता थियो ।
तर, २८ जेठमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै उनले पक्षमा मतदान गरेका थिए । त्यसको भोलिपल्ट ऊर्जामन्त्री बनेका उनलाई माओवादीले निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र बुझाएको थियो ।
त्यसैको आधारमा सभामुख धितालले आज प्रदेशसभामा उनी पदमुक्त भएको जानकारी गराएका हुन् । यससँगै देवकोटाको मन्त्री पद पनि गएको छ ।
टिप्पणीहरू