ओलीले बोलाउँछु भनेको, खबरै आएन : भीम रावल

ओलीले बोलाउँछु भनेको, खबरै आएन : भीम रावल

नेकपा एमालेको गोदावरीमा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद भेलामा नबोलाइएपछि डा. भीमबहादुर रावलले नयाँ पार्टी खोल्ने चर्चासँगै देशव्यायी छलफल थालेका छन् । गोदावरी प्रकरणपछि उनले काठमाडौँमै लामो समयसम्म एमाले,एकीकृत समाजवादी,नेपाली काँग्रेस लगायत निकटहरुसँग भेट गरेका थिए । दुई सातादेखि भने राजधानी बाहिर पुगेर छलफल चलाइरहेका छन् ।

यसबीच चितवनदेखि अछामसम्म सैयौंलाई भेटिसके । गैंडाकोट, नेपालगञ्ज,कैलालीको चिसापानी,गोदावरी, धनगढी र अछामका विभिन्न ठाउँमा गरिएको भेटघाटमा उनले आफ्ना कुरा स्पष्टसँग राख्दै आएका छन् । धेरैको जिज्ञासामा उनले आफूलाई एमाले मुख्यालय च्यासलको भेटमा अध्यक्ष केपी शर्मा ओलीले पुनः बोलाएर छलफल गर्ने जानकारी दिए पनि हालसम्म खबर नगरेको बुझिएको छ । उनलाई अध्यक्षले पुनः बोलाउँछु भनेको साउनमा एक वर्ष पुग्दै छ । रावलको भनाई उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘ओलीले बोलाउँछु भनेको हो तर अहिलेसम्म खबरै आएन ।’

रावलले पार्टी अध्यक्षलाई भेट्न आफूलाई कुनै समस्या नभएको पनि बताएका छन् । आफूले मुलुकको हितसँग सम्बन्धित सवाल उठाउँदा कतिपयले नराम्रो ठानेको उनको बुझाई छ । रावलले भने, ‘एमसिसीको विरोध गरेकैले मलाई अछाम क्षेत्र नम्बर १ का लागि सबै तहबाट २०७९ को चुनावमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरिँदासमेत रोकियो ।’

आफूलाई पार्टी छोडाउन लागिपरेकाहरुले एकीकृत समाजवादीको उच्च तहका नेतासँग भेटेको आरोप लगाएको पनि उनले उल्लेख गरे । आफूले सकेसम्म सबैलाई भेटेर राजनीतिक संवाद गर्ने गरेको रावलको भनाई छ । गोदावरीमा नबोलाइएपछि माधव नेपाल,झलनाथ खनाल,घनश्याम भुषालसित भेटघाट र छलफल भएकोवारे भने केही बताएनन् । रावलसँग समाजवादीको सुदूरपश्चिमका सबै तहका नेताहरुले टोखास्थित उनको निवासमा संयुक्त रुपमा भेटेको फोटो यसअघि नै सार्वजनिक भइसकेको छ । 

नयाँ पार्टी बनाउने तयारी हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा रावल भन्छन्,  ‘त्यो बनाउन त सकिन्छ तर ५० वर्ष योगदान गरेको पार्टी छोड्न सकिन्न । एकातिर आफैले बनाएको पार्टी कसरी छोड्नु,अर्कोतिर जीवनको उत्तरार्धमा प्रवेश गरेको बेला पार्टी फुटाएर अर्को बनाउनु उचित हुँदैन ।’  अछामको एक कार्यक्रममा रावलले आफूलाई एक रात एक्लै होटलमा बसेको भए पनि बदनाम गर्न बाँकी नराखेको उल्लेख गरे ।

आफ्ना कुनै कमजोरी नभएको र गल्ती नगरेको अवस्थामा पनि पार्टी छोड्न लागेको,समाजवादी छिर्न खोजेको चर्चा चलाइएकोमा दुःखेसो पोख्दै रावल भन्छन्, ‘मैले एमालेको कैयौं नेताबारे कुरा गर्ने हो भने उनीहरुले त्यसको खण्डन गर्न एक वर्ष लाग्छ ।’

रावलले विभिन्न राजनीतिक दलका नेतासँग गरेको निरन्तरको भेटघाट र छलफलका कारण पनि उनीमाथि नयाँ पार्टी दर्ता र एमाले विभाजनको तयारी गरेको आरोप लगाइएको हो । तर,नेता रावल उक्त आरोपमा कुनै सत्यता नभएको दाबी गर्छन् । उनले भने, ‘राष्ट्रियता कमजोर भएको,मुलुकको संविधानअनुसार बनाउनुपर्ने कानुन नबनाएर मुलुकलाई कमजोर बनाउनेहरुले चलाएको हल्ला हो त्यो । आफ्ना गल्ती कमजोरी लुकाउन रचिएको खेल हो ।’

एक अर्को प्रसंगमा उनले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बेच्ने नेताको रुपमा व्यक्त अमूर्त आरोपलाई रावलले उनको भुलभुलैयाको प्रयास भनेका छन् । रावल भन्छन्, ‘रविको त्यो कुरा जनतालाई भुलभुलैयामा पार्ने मात्र हो । होइन भने मुद्दा चलाएर देखाउनुपर्यो ।’

 

टिप्पणीहरू