चर्तिकला यति चर्को हुँदा पनि अख्तियार चिम्म

चर्तिकला यति चर्को हुँदा पनि अख्तियार चिम्म

दोहोरो नागरिकता बोक्ने भारतीयका नाममा पहिले नै गलत तरिकाबाट दर्ता गरिएको जमिन एक वरिष्ठ अधिवक्ताको अग्रसरतामा छलछामपूर्ण रूपले फेरि बेचबिखन गरिएको छ ।

नेपाली नागरिकता लिएका तर भारतमै बसोबास गर्ने अल्कानन्द सेन गुप्ता, लिपी सेन गुप्ता र उर्मि सेन गुप्ताका नाममा जावलाखेलको आनाकै ९० लाखभन्दा बढी पर्ने ३ रोपनी ७ आना जग्गा राजीनामाको लिखतबाट हक हस्तान्तरण गरिएको हो ।

जावलाखेलमा राष्ट्रियसभाका पूर्व अध्यक्ष स्व. बेनीबहादुर कार्कीको घर परिसरछेउमै मुख्य सडकसँग जोडिएको सो जमिन लेनदेन गर्दा कारोबार गरिएको ३२ करोडभन्दा बढी रकमको अस्तित्व नेपालमा कतै देखिएको छैन । अदालत र मालपोतका कर्मचारीलाई समेत प्रभावमा पारेर वरिष्ठ अधिवक्ता, पूर्वसांसद तथा बार एसोसिएसनका तत्कालिन अगुवा हरिहर दाहालको अभिनव ल फर्मले बेचबिखनको काम तमाम गरेको हो । 

सेनहरू पश्चिम बंगालका हुन् र सपरिवार उतै बसोबास गर्छन् । कतिपय बेलायतमा पनि छरिएका छन् । तिनैका नाममा रहेको जग्गा ललितपुरका राजा अवाले, कृष्ण अवाले, राम अवाले, श्यामकाजी अवाले र केदार अवालेको नाममा नामा सारी गरिएको हो । त्यस क्रममा अवालेहरूले जग्गावालाका नाममा नभएर पशुपति सेन गुप्ता र विश्व सेन गुप्ताका नाममा चेक काटेका छन् । प्रचलित कानूनबमोजिम जग्गावालाको नाममा चेक वा रकम दिएपछि मात्र नामसारी गर्न पाइन्छ ।

तर डोरका रूपमा खटिएको मालपोत कार्यालयका कर्मचारीले यसतर्फ ध्यान नै नदिई स्वामित्व परिवर्तन गरिदिएका छन् । अर्कातर्फ अवाले बन्धुहरूले दिएको ३० करोडभन्दा बढीको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चेकबाट सो बैंकमा एक पैसा पनि जम्मा गरिएको छैन । चेक मालपोत कार्यालयलाई देखाउनका लागि मात्र दिइएको र नगद नै रकम लेनदेन गरी हुण्डीबाट पैसा विदेश पठाइएको देखिन्छ ।

राजिनामा पास गर्नका लागि १० लाखभन्दा बढी रकम बैंकमार्फत नै लेनदेन गर्नुपर्ने प्रावधानलाई पनि धज्जी उडाएको पाइएको छ । बैंकसमेत यी सबै गलत कार्यमा सहभागी भएको प्रमाणसहित छानबिनका लागि निवेदन परेपछि फेरि अर्को नक्कली कागजात बनाई विश्व र पशुपतिलाई हकदारका रूपमा देखाइएको छ । यी सबै गलत काम गरिदिएबापत वकिल टोेलीले एकैचोटी ५ करोडभन्दा बढी रकम आर्जन गरेको पनि श्रोतको दाबी छ । लगत्तै निकै महँगो विलासी गाडी खरिद गरेको अवस्था छ । 

अवाले बन्धुहरू विवादित जग्गा लन्ठ्याङमन्ठ्याङ पारेर आफ्नो नाममा दर्ता गर्ने र हकवालाहरूलाई धम्काएरै तह लगाउनमा चर्चित हुन् । राम अवाले बक्सिङ संघको लामो समयदेखिका अध्यक्ष हुन् । पृष्ठभूमिले खाँटी कांग्रेस भए पनि सत्ताधारीसँग सधैँ निकट भइरहन रुचाउने र अहिले आफूलाई खरो माओवादीका रूपमा परिचित गराउँछन् ।

उपत्यकाका विवादमा परेका, मुद्दा चलिरहेका जग्गा कम मूल्यमा लिने र विपक्षीहरूलाई तह लगाउने समूह हो यो । यतिले पनि नपुगे अदालत, नापी तथा मालपोतका कर्मचारीलाई रिझाएर पनि यिनीहरू हकवाला विपक्षीहरूलाई पाखा लगाउन माहिर मानिन्छन् । बक्सिङ संघको अध्यक्षमा कायम रहिरहन राम अवालेले खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई घडेरी नै दिएको त्रिपुरेश्वरका चियापसलमा खेलाडीबीच चर्चाको विषय बन्ने गरेको छ । यसबीच, मोहीहरूले जिल्ला अदालतमा हकअधिकारी कायम गरिपाऊँ भनी मुद्दा हालेका छन् । ती निम्सरालाई अदालतले न्याय देला त ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू