प्रधानमन्त्रीसँग विश्व बैंकका उपाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंकका उपाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विश्व बैंकका उपाध्यक्ष एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच आज साँझ भेटवार्ता भएको हो । सो अवसरमा नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा प्रधानमन्त्री प्रचण्डले विश्व बैंकले छ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताउनुभयो । आफू नेतृत्वको सरकारले आगामी अर्थ नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताउँदै उहाँले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाउनुभएको बताइएको छ । 

प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने बताउनुभयो । नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै उहाँले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तरर्राष्ट्रिय मञ्चमार्फत् वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंक आवश्यक सहयोगका लागि सँधै तयार रहेको बताउनुभयो । भोलिदेखि शुक्रबारसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास संघ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकका विषयमा पनि सो अवसरमा छलफल भएको छ ।

बैठकमा विश्व बैंकका वरिष्ठ अधिकारीहरुसहित ६१ देशका दुई सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । बैठकको उद्घाटन समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त बैठकले आगामी तीन वर्षसम्म नेपाललाई प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण ऋण एवम् अन्य सहयोगका प्राथमिकताबारे छलफल हुनेछ ।

टिप्पणीहरू