गैरकानुनी गतिविधिमा लगाइएका सवारी साधन प्रहरीको कब्जामा

गैरकानुनी गतिविधिमा लगाइएका सवारी साधन प्रहरीको कब्जामा

नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासीमा प्रयोग भएका सवारी साधन प्रहरीले समातेको लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमातहत अस्थायी प्रहरी पोष्ट भेडावरीबाट खटिएको टोलीले आज जेसीबी र जिप नियन्त्रणमा लिएको हो । 

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ र ६ को बीचमा रहेको मार्दी खोलामा अवैध उत्खनन् गरिरहेको बा. २ क ९६४७ नम्बरको जेसीबी प्रहरीले चेकजाँच गरेको थियो । उत्खनन् गर्नुको प्रयोजन खुल्ने कागजात नभेटिएपछि नियन्त्रणमा लिएको जिप्रका कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले बताए । 

उनका अनुसार आवश्यक कारबाहीका लागि जेसीबी जिल्ला प्रशासन कार्यालय, कास्की बुझाइएको छ । त्यस्तै, अस्थायी प्रहरी पोष्ट, हेम्जाबाट खटिएको टोलीले जिप नियन्त्रणमा लिएको छ । भेडावरीबाट पोखरातर्फ आउँदै गरेको प्र ३–०१०२४ च ४२७० नम्बरको जिप प्रहरीले चेकजाँच गरेको थियो । 

सो जिपमा कागजात नभएको अवैध कटपिस ढुङ्गा भेटिएको थियो । प्रहरीले आवश्यक कारबाहीका लागि सो जिप अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको छ ।

टिप्पणीहरू