पद उपल्लो,काम हेर्दा मन खल्लो

पद उपल्लो,काम हेर्दा मन खल्लो

दुई वर्षदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह चर्चा र विवादमा छन् । अचम्मको काम गर्ने शैली र आफूलाई चित्त नबुझेको कुरामा तुच्छ हिसाबले  सामाजिक सञ्जालमा टिप्पणी गरिहाल्ने स्वभावका कारण उनी प्रायः विवादको चक्रब्यूहमा पर्ने गरेका हुन् । 

कानुन र अदालत नमान्ने,सिंहदरबारमा आगो लगाइदिनेलगायत उनको अभिव्यक्तिले तरङ्ग ल्याउँछ । जनमतको आडमा उनले मनोमानी निर्णय गर्दै आएको विपक्षी जनप्रतिनिधिहरुको आरोप छ । ‘स्वतन्त्र’ मेयरले कार्यपालिका सदस्यहरुलाई कुनै वास्ता गरेको पाइन्न । ३२ वटा वडाका जनप्रतिनिधिलाई सँगै लिएर हिँड्नुपर्ने जिम्मेवारी र दायित्वमा रहेका उनी आफ्नै धुनमा ‘मस्त’ देखिन्छन् । 

सल्लाह र सहकार्यको सट्टा आफूलाई जे मनलाग्यो,त्यही गर्ने चरित्र छ । एकलौटी निर्णय गर्ने स्वभावका कारण कार्यपालिका सदस्यहरु गलित भइसकेको बताउँछन् । 

मेयरको हैकमवादी प्रवृत्तिका कारण काठमाडौं महानगर झन् गञ्जागोलमा फसेको जनप्रतिनिधिहरुको ठहर छ । मेयरले एकलौटी रुपमा गरेका दर्जनौं निर्णय अलपत्र छन् । स्रोतमै फोहोर वर्गीकरण गरी वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने उनको प्रतिबद्धता बिस्तारै सेलाएको छ । 

होटल, रेष्टुरेण्टको शौचालय प्रयोग गर्न दिने निर्णय पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । न्यूरोडमा फुटपाथ विस्तारको विषयले ठूलै चर्चा र विवाद खडा गर्यो । मेयरले छलफलबिना फुटपाथ विस्तार गरेको जनाउँदै वडाध्यक्षसहित स्थानीय सडकमा उत्रिए । व्यापक विरोधपछि सडक डिभिजन, काठमाडौंले महानगरले भत्काएको सडक एकै दिनमा पुरेको छ । 

‘चोर बाटोबाट निर्णय’ गरेको भन्दै बालेनको चर्को आलोचना गरियो । कार्यपालिका सदस्यलाई निर्णयमा सहभागी नगराएर उनले जनताको मतकै अपहेलना गरेको भन्दै केही वडाध्यक्षले असन्तुष्टि पोखे ।

मेयरमा औपचारिकताको अभाव 

मेयरले आफ्नो क्षेत्रभित्रका स्थानीयको अभिभावकत्व लिनैपर्छ । सँधै आफ्ना मतदाताप्रति उत्तरदायी हुनुपर्छ । तर, बालेनमा त्यसको कमी देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । उनी स्थानीयमाझ जान,उनीहरुको गुनासो सुन्नमा खासै चासो देखाउँदैनन् । सामान्य भाषामा भन्दा उनी ‘पब्लिक फेस’ गर्नै चाहँदैनन् ।  

यसको अर्थ उनले जनप्रतिनिधिको महत्व र गरिमा नै नबुझेको भन्ने हो । जनताको भावना बुझ्ने,जनताका लागि सही निर्णय लिने,आलोचनाबाट आक्रोशित नहुने, जनताका लागि खटिने व्यक्ति नै सच्चा जनप्रतिनिधि हुन् । यसका लागि जनतामाझ जानु पहिलो शर्त हो । तर, उनी जनताको कुरा सुन्नमा भन्दा पनि आफ्नै लहड थोपर्नमा मस्त देखिन्छन् ।

स–साना विषयमा रिसाइहाल्ने उनी आफूले भनेको जस्तो नहुँदा  सामाजिक सञ्जालमा तथानाम लेख्छन् । उनको ‘सर्टटेम्पर्ड’ स्वभावले महानगरका कर्मचारी पनि झगडालु स्वभावको बन्दै गएका छन् । वडाध्यक्षहरुलाई पनि भेट्न समय नदिने उनले ब्राजिलमा गतहप्ता सम्पन्न ‘मेट्रोपोलिस निर्देशक समिति’ को बैठकमा सहभागी भएर फर्किए पनि जनप्रतिनिधिहरुलाई सो को औपचारिक जानकारी दिएका छैनन् । 

कार्यपालिका बैठकको प्रारम्भमा ठूलै हंगामा गरेर ब्राजिल प्रस्थान गरेका उनले आफ्नो दायित्व बिर्सिएझैं देखिन्छ । असार ३ गते ब्राजिल उड्नुअघि महानगरको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न बैठक बोलाइएको थियो । 

कार्यपालिका सदस्यहरु बैठकमा उपस्थित भए पनि मेयरले हतारमा नीति तथा कार्यक्रममाथि छलफल गर्न खोजेपछि उनीहरुले आपत्ति जनाएका थिए । बैठक बस्नुअगावै उनीहरुले मेयरसमक्ष नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गर्न समय माग गर्दा मेयरले जबरजस्ती कार्यपालिका बैठक अगाडि बढाए । 

त्यसपछि सदस्यहरुले कार्यपालिका बैठक नै बहिस्कार गरे । बालेनले त्यसलगत्तै सामाजिक सञ्जालमार्फत आक्रोश पोखिहाले । काँग्रेस, एमालेको धङधङी बोकेर बैठकमा नआउन चेतावनी दिए । बैठक अलपत्र पारेर हिँडेका उनी गत शनिबार ब्राजिलबाट फर्केका छन् ।

उनी स्थानीयमाझ जान,उनीहरुको गुनासो सुन्नमा खासै चासो देखाउँदैनन् । सामान्य भाषामा भन्दा उनी ‘पब्लिक फेस’ गर्नै चाहँदैनन् ।

तर, उनले त्यहाँ के बोले ? कस्ता अवधारणा राखे ? अन्तर्राष्ट्रिय स्तरको बैठकको उपलब्धि के भयो ? जनप्रतिनिधिलाई नै केही थाहा छैन । समग्र महानगरको प्रतिनिधित्व गरेर ब्राजिल गएका उनले फर्किएपछि बैठकमा भएको छलफलबारे कार्यपालिका सदस्यहरुलाई जानकारी गराउनुपथ्र्यो । उनले त्यहाँ बोलेका कुराहरुको महानगरमा अभिलेखीकरण हुनुपर्थ्यो ।

यद्यपि, न उनले जवाफ दिए न कसैले सोधेका छन् । महानगरका एक जना वडाध्यक्ष भन्छन्, ‘काठमाण्डौका मेयरको हैसियत राज्यमन्त्रीसरह हो । उहाँ समग्र महानगरको प्रतिनिधित्व गरेर त्यता जानुभएको थियो । तर, व्यक्ति गएझैं व्यवहार देखाउनुभयो । अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएपछि त्यहाँ छलफल भएका,सिकेका कुराहरु जानकारी गराउनुपर्थ्यो । तर, उहाँले जानकारी गराउनुभएको छैन । महानगरकै जनप्रतिनिधि भएपनि उहाँले हामीलाई पराईजस्तो व्यवहार गर्नुभएको छ ।’

यस विषयमा हिजो बिहान कार्यपालिका बैठकमा पनि प्रश्न उठेको ६ नम्बर वडाका वडाध्यक्ष भुवन लामाले बताए । तर, मेयरले जवाफ नै नदिएपछि उनले गुनासो पोखे । ‘आज बिहान हामीले कार्यपालिका बैठकमा यो कुरा राख्यौं । तपाईं भ्रमण गर्न जानुभएको कि केही सिक्न ? भनेर हामीले प्रश्न गर्यौ । उहाँ मेयर भएपछि विभिन्न मुलुक भ्रमण गरिसक्नुभयो । तर, त्यहाँ के सिकेर आउनुभयो ? महानगरको तर्फबाट कस्ता विषयहरु उठाउनुभयो ? केही जानकारी नै हुँदैन । हामीले प्रश्न गरेपनि उहाँले जवाफ दिनुभएन,’ उनले भने । 

वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले मेयरले बैठकमा गएकोसम्म जानकारी गराए तर थप केही नबोलेको उल्लेख गरे । ‘उहाँले बैठकमा गएकोसम्म जानकारी गराउनुभयो । त्यो बाहेक अरु केही भन्नुभएन ।’

मेयरका पनि गुनासै गुनासो 

मेयर बालेन अरुमाथि औंला उठाउन पछि हट्दैनन् । आफूमाथि प्रश्न उठेमा जवाफ दिनुको साटो उल्टै प्रश्न गर्नु उनको शैली हो । उनले बोले–गरेका धेरै कुरा विवादमा छन् । आफू गलत भएपनि जित्नैपर्ने उनले बेलाबखत कानुनलाई पनि चुनौती दिइरहेका हुन्छन् । बालेनको सँधै एउटै गुनासो हुन्छ, ‘एमालेले सहयोग गरेन ।’

हाल काठमाडौंमा झण्डै डेढ दर्जन एमाले जनप्रतिनिधि छन् । तर, २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनबाहेक अरु जनप्रतिनिधि उनको विरोधमा रहेको सतहमा देखिँदैनन् । उपमेयर सुनिता डंगोल एमालेबाटै निर्वाचित जनप्रतिनिधि हुन् । उनले पनि मेयरको निर्णयमा न रोकतोक गरेकी छन न आपत्ति नै जनाएकी छन् । 

बालेनलेको सबै निर्णयमा उनको मौन समर्थन देखिन्छ । महर्जन भने मेयरसँग रिसाउनुको कारण न्यूरोडमा छलफलबिना सडक खन्नु हो । उनले ‘लुकीछिपी’ रातारात सडक खनेकोमा महर्जनले विरोध जनाएका हुन् । योबाहेक मेयर र उनीबीच अन्य वडाध्यक्षबीच खासै विवाद देखिँदैन । एउटा वडाध्यक्षबाट भएको विरोधलाई पूरै असहयोग भएको ठान्नु गलत रहेको धेरैको भनाई छ । मेयरले विवादबाट उम्किनका लागि अरुमाथि दोष थुपारेको उनीहरुको भनाइ छ । 

नयाँ नबनाउने, पुरानैमा अल्झिने

बालेन मेयरमा निर्वाचित भएको दुई वर्ष बितिसकेको छ । तर, उनले नयाँ भौतिक पूर्वाधार निर्माणमा खासै ध्यान दिएका छैनन् । भएको संरचना भत्काउने र त्यसमै नयाँ बनाएर बजेट सकाउने काम मात्रै भइरहेको आरोप छ । स्रोतका अनुसार उनले भौतिक पूर्वाधार निर्माणका लागि सबै वडालाई छुट्टै १० करोड रुपैयाँ बजेट छुट्याइदिएका छन् । त्योमध्ये १० प्रतिशत सम्बन्धित ठेकेदारले सम्बन्धित जनप्रतिनिधिलाई बुझाउने गरेको हाकाहाकी भन्ने गरिएको छ । त्यहि १० प्रतिशत अहिले धेरै जनप्रतिनिधिको मुखमा बुझो बनेको ठान्नेहरु धेरै छन् ।

‘काठमाडौंमा नयाँ संरचना बनेकै छैन भन्दा पनि हुन्छ । भएको भत्काउने, त्यसमै नयाँ बनाउने मात्र भइरहेको छ । ढुंगा छापेको ठाउँमा कालोपत्रे, कालोपत्रे गरेको ठाउँमा ढुंगा छाप्ने र बजेट सकाउने कामले प्राथमिकता पाएको छ । मेयरले सबै वडालाई भौतिक पूर्वाधार निर्माणका लागि करोडौं बजेट छुट्याइदिएका छन् । मुखमा चास्नी परेपछि सबै चुप लाग्ने भइहाले’, स्रोतले भन्यो ।

टिप्पणीहरू