काढेर ऋण, बसीबसी ३८ लाखका दिन

काढेर ऋण, बसीबसी ३८ लाखका दिन

देशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने राज्यको नीति हुनुपर्ने हो तर सामाजिक सुरक्षा भत्ताको नाममा नागरिकलाई परनिर्भर बनाइँदै छ । विभिन्न समयमा सरकारको नेतृत्व गरेका राजनीतिक दलले भत्तालाई भोट–राजनीतिको हतियार बनाउँदा यस्तो अवस्था बनेको हो ।

वृद्ध भत्तालाई आफ्नै ब्राण्ड दाबी गर्दै आएको एमालेले हरेक चुनावमा ‘वृद्ध भत्ता’ बढाउने एजेण्डा अघि सार्दै आएको छ । अन्य पार्टीले पनि त्यसैको सिको गर्दै भत्तालाई भोटको राजनीतिसँग जोड्ने गरेका छन् ।

२०५१ सालमा नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले मासिक एक सय रूपैयाँबाट शुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ । सो समयमा वृद्धभत्ता पाउनको लागि ७५ वर्ष पुगेको हुनुपथ्र्याे । जतिबेला नेपालीको औसत आयु ६३ वर्ष मात्रै थियो । पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला ६८ वर्षको उमेरदेखि वृद्धभत्ता दिन थालिएको छ । जबकि अहिले औसत आयु बढेर ७२ वर्ष पुगेको छ ।

लोककल्याणकारी राज्यको अवधारणाअन्तर्गत गरिबीको रेखामुनि रहेका विपन्न नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने उद्देश्य आफैँमा प्रगतिशील कदम हो । यसलाई राज्यको अनिवार्य दायित्वका रूपमा पनि लिने गरिन्छ । तर, जस लिने होडबाजीमा निश्चित मापदण्डबिनै हचुवामा ल्याइने यस्ता कार्यक्रमले एकातिर राज्यकोषमा आर्थिक भार परिरहेको छ भने अर्कोतिर प्रभावकारितामाथि प्रश्न उठेको छ । 

यो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरिएको छ । जसमध्ये करिब ६२ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड चालु खर्च छ । जसमा २ खर्ब २५ अर्ब त सामाजिक सुरक्षा भत्तामै खर्च हुन्छ । वृद्ध भत्ता, एकल महिला, विधवा भत्तालगायत सामाजिक संरक्षणका नाममा ३८ लाखले यस्तो भत्ता खाने गरेका छन् । ३ करोड जनसंख्या भएको देशमा झण्डै एक करोड बाहिर छन् । र, २ करोडमा ३८ लाखले बसीबसी भत्ता खाने भएपछि राज्यले कहिलेसम्म थेग्न सक्ला ?- प्रश्न गम्भीर छ । 

‘एकचोटि दिन थालेपछि घटाउन मिल्दैन, बरु अझ बढाउनुपर्ने हुन्छ । त्यसैले शुरुबाटै भत्ता बाँड्ने कार्यक्रमलाई वैज्ञानिक बनाउनुपथ्र्यो । तर, भत्ता बढाएर लोकप्रिय हुने नाममा राजनीतिक पार्टीले थिति बिगारिसकेका छन् । अब घटाउने हिम्मत कसैले गर्न सक्दैन,’ अर्थ मन्त्रालयका एक जना पूर्वसचिव भन्छन्, ‘यस्तै अवस्था रहिरहने हो भने राजश्वले कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता बाँड्न पनि पुग्दैन । ऋण गरेर भत्ता दिनुपर्ने अवस्था आउँछ ।’

पहिले त गाउँगाउँमा वृद्धभत्ताको रकम चरम दुरूपयोग पनि हुन्थ्यो । गाविस सचिवहरूले मृत्यु भइसकेकाहरूको नाममा रकम बुझेर ब्रह्मलुट गरेका थिए । त्यतिबेला तराईका जिल्लामा गाविस सचिव भएकामध्ये अधिकांशले काठमाडौँमा घर बनाए । तर, पछिल्लो चरण भत्ता वितरण बैंकिङ प्रणालीमा गएकाले दुरूपयोग भने रोकिएको छ । तर, राज्यकोषमा आर्थिक भार भने झन् बढिरहेको छ ।

राज्यको क्षमताका आधारमा हेर्दा नेपालजस्तो बजेट घाटामा चल्ने देशका लागि यो उपयुक्त कार्यक्रम नै होइन । अमेरिका, चीन, बेलायत, जापान र युरोपकासम्पन्नशाली देश, जहाँ जति खर्च गर्दा पनि राज्यलाई बचत मात्र हुन्छ त्यहाँबाट विकास हुँदै आएको कार्यक्रम हो यो ।

अर्कोतिर, सामाजिक सुरक्षा भत्ताका नाममा राज्यले नागरिकलाई अति परनिर्भर बनाइरहेको छ । सरकारको मुख ताक्ने मनोविज्ञानमा बाँचिरहेको समाजमा भत्ता बाँड्ने परम्परा शुरु गरेर नेताहरूले अर्थतन्त्र बिगारेको उनै पूर्वसचिव बताउँछन् ।

बजेट निर्माणको एउटा सन्दर्भ सुनाउँदै उनले भने, ‘त्यतिबेला एमालेका एक जना नेता अर्थमन्त्री हुनुहुन्थ्यो । हामीले सामाजिक सुरक्षा भत्ता वितरणलाई निश्चित मापदण्ड बनाएर नियन्त्रण गर्न नसके राजश्वले धान्दैन भनेर सुझाव दिएका थियौँ । तर, उहाँले सुधारको सबै काम हामीले गर्नुपर्ने हो र भनेर गैरजिम्मेवार जवाफ दिनुभयो ।’ 

वास्तवमा परनिर्भरता कतिसम्म छ भने गाउँमा खेतबारी बाँझो छ तर सरकारले रोजगारी दिएन भन्दै विरोध हुन्छ । नैतिकता र आदर्श सिकाउने शिक्षा प्रणाली पनि छैन । यसले नागरिकलाई निराश र आक्रोशसँगै भ्रष्ट पनि बनाइरहेको छ ।

भनिन्छ, मुलुक त्यतिबेला विकसित हुन्छ जतिबेला युवाको जनसंख्या बढी हुन्छ । नेपालमा अहिले झण्डै ४० प्रतिशत जनसंख्या युवाको छ । तर, उनीहरूको विदेश पलायन रोक्न नसक्दा राज्यले जनसांख्यिक लाभ लिन सकेको छैन । यो अवस्थामा तत्काल सुधार गर्न नसके अर्थतन्त्रले ‘सेप’ लिन सक्दैन भन्छन् अर्थविद्हरू ।

तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष पाँच लाख नयाँ युवा श्रम बजारमा आउँछन् । तर, भनेजस्तो रोजगारी नपाएको भन्दै उनीहरूमध्ये अधिकांशले विदेश रोज्ने गरेका छन् । बलिया पाखुरा भएकाहरू रोजगारी खोज्न विदेश कुदेको कुद्यै छन्, यहाँ काम गर्ने मान्छे छैन । हुँदाहुँदै कस्तो अवस्था आइसक्यो भने निर्माण क्षेत्रमा विदेशबाट कामदार ल्याउनुपर्ने अवस्था छ ।

केही महिनाअघि हृदयाघातका कारण निधन भएका ठमेल एरियामा होटल निर्माणका ठेकेदार मधुसुदन भण्डारीले बंगलादेशबाट कामदार ल्याउनुपरेको सन्दर्भ सुनाउने गरेका थिए । अर्थतन्त्रका विज्ञहरू यसलाई रोजगारी र कामका बीच तादात्म्यता मिलाउन नसक्नुको परिणाम हो भन्छन् ।

जस्तो, प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा राज्यको अर्बौं रकम खर्च भएको छ तर त्यसले रोजगारी सिर्जना गर्न सकेको छैन । नागरिकलाई रोजगारी प्रदान गरेर जीवनस्तर माथि उकास्ने उद्देश्य भए पनि बजेटको सही ठाउँमा उपयोग नहुँदा कार्यक्रमको प्रभावकारिता नरहेको हो । सडक छेउका झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम दुरूपयोग भएको अध्ययनले नै देखाइसकेको छ ।

 

टिप्पणीहरू