काम कुरो एकातिर भन्दै दुर्गा प्रसाईंलाई बाइबाइ

काम कुरो एकातिर भन्दै दुर्गा प्रसाईंलाई बाइबाइ

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का दुई सदस्यले राजीनामा दिएका छन् । सदस्य हरिबहादुर कार्की र विजय कँडेलले सम्पूर्ण जिम्मेवारी परित्यागको घोषणा गरेका हुन् ।

महाअभियानका संयोजकलाई असार १० गते राजीनामा पत्र बुझाउँदै कार्कीले जनताको मागविपरीतको क्रियाकलाप हुन थालेकोले पदबाट राजीनामा दिन बाध्य भएको बताएका छन् । त्यस्तै, उनले एकअर्कालाई दोष दिने, खुइलाउने तथा हुर्मत लिनेसम्मका गतिविधि हुन थालेको पत्रमा उल्लेख गरेका छन् । 

उनले भनेका छन्,‘हामी (स्वतन्त्र अभियान) जुन सम्झौताका साथ सहकार्य गरेका थियौँ,सोअनुरुप कार्य नभएको, एकअर्कालाई दोष दिने, खुइलाउने तथा हुर्मत लिनेसम्मका गतिविधि भएका कारण र जनताको मागहरु एकातिर र क्रियाकलाप अर्कोतिर हुने संकेत प्राप्त भएको कारण आजका मितिदेखि मलगायत हाम्रो अभियान यस महाअभियानबाट बाहिर हुँदै हाल प्राप्त गरेका सम्पूर्ण पदबाट राजीनामा दिन चाहन्छु ।’ 

महाअभियानको सचिवालय सदस्य तथा मीटरब्याजी संघर्ष समितिका संयोजकसमेत रहेका कँडेलले व्यवसायिक कारणले पद छोड्नुपरेको जानकारी दिएका छन् । ‘पछिल्लो समयमा म व्यवसायिक क्षेत्रमा व्यस्त रहेको र अभियानको जिम्मेवारी पदमा बस्न नसकेको हुनाले यहाँहरुको विश्वास प्रति धन्यवाद ज्ञापन दिँदै आजकै मिति २०८१–०३–११ गतेकै दिनबाट सम्पूर्ण जिम्मेवारी र पदबाट राजीनामा दिएको र जिम्मेवारीबाट बाहिर निस्किएको घोषणा गर्दछु’, पत्रमा भनिएको छ ।

टिप्पणीहरू