अनमोलका कारण फिल्मबाट हटाइएकी आनाको आपत्ति

अनमोलका कारण फिल्मबाट हटाइएकी आनाको आपत्ति

‘जेरी अन टप’ चलचित्रबाट निकालिएकी अभिनेत्री आना शर्माले आपत्ति जनाएकी छन् । 

चलचित्रको सम्पूर्ण ‘वर्कशप’ गरिसकेर अन्तिम अवस्थामा बिना जानकारी आफूलाई निकालिएको भन्दै उनको आपत्ति प्रकट भएको हो । निर्माण पक्षले आफ्नो नाम प्रयोग गरेर चलचित्रको प्रचार गरेको र अहिले सूचनाबिनै हटाइएको उनको गुनासो छ ।

‘फिल्म टोलीले महिनौंसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे, तर मलाई हटाइँदा एक शब्द जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो ?’, उनले प्रश्न गरेकी छन्, ‘यी सम्पूर्ण घटनाक्रम मेरा लागि अस्वाभाविक हुन्, मेरो मन चिरिएको छ ।’

आनाले घुमाउरो भाषामा अनमोल केसी र जसिता गुरुङप्रति पनि कटाक्ष गरेकी छन् । उनी थप्छिन्, ‘मेरो स्थानमा अरू कलाकारलाई लिएपछि आफ्नो नाक जोगाउन उनीहरूले मेरो बारेमा तथानाम बकिरहेका छन्, मैले सुनिरहेकी छु ।’

यो चलचित्रमा दुई वर्षअघि नै अनमोल र आना अनुबन्धित भएका थिए । तर केही दिनअघि अनमोलको आग्रहमा निर्माण टिमले आनालाई हटाएर जसितालाई अनुबन्धित गरेको थियो । 

पछिल्लो समय अनमोल र जसिता प्रेममा रहेको चर्चा पनि उत्तिकै छ ।

टिप्पणीहरू