यो गुप्त भेटको के हो अन्तर्य

यो गुप्त भेटको के हो अन्तर्य

कतै ‘बजेट राजनीति’ को निहुँमा परेर सरकार त अप्ठ्यारोमा छैन ? आर्थिक वर्ष २०८१/८२ का निम्ति विनियोजित बजेटलाई लिएर एमाले र माओवादीबीचको सम्बन्धमा दरार आएको अवस्था बजेट पाससँगै तत्काललाई टरेको छ । यही मेसोमा माओवादी नेता जनार्दन शर्मा र कांग्रेस नेता रमेश लेखकबीचको संवादले तीव्रता पाएको छ । अहिले माओवादीभित्र किनारामा पारिएका जनार्दन र कांग्रेसमा सभापति शेरबहादुर देउवाको विश्वासिला मानिने रमेश लेखकबीचको कुराकानीले नै सत्ता गठबन्धन तलमाथि पारिहाल्छ भन्ने त छैन ।

तर, राजनीतिमा नयाँ रंग भर्ने काम यस्तो संवादबाट बाक्लिनसक्छ । अहिलेको सत्ता गठबन्धनमा माओवादीबाट वर्षमान पुन अर्थमन्त्री छन् । उनी उत्तरी मुलुकसँग नजिक रहेको मानिन्छ । दक्षिणी छिमेकी भारतमा हालै सम्पन्न निर्वाचनपछि त्यहाँ विकसित नयाँ शक्तिसन्तुलन र परिवर्तित सन्दर्भमा भारतको नेपाल दृष्टिकोणमा आधारित भएर भित्रभित्र खेल चलिरहेको अनुमान गर्न सकिन्छ । 

यता, एमालेले बजेटको विरोध गरिरहँदा नेपाली कांग्रेसलाई भने त्यतातिर त्यति चासो देखिँदैन । प्रतिपक्षलाई बजेटका त्रुटि र त्यसलाई अवरोध गर्ने कुराको चासो हुनुपर्नेमा अहिले ठीक उल्टो भएको देखिन्छ । 

दल विभाजनको असरस्वरूप प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच बोलचालसमेत बन्द छ । उपेन्द्रले अब समाजवादी मोर्चा छोड्ने अवस्था आएको छ । संसदमा ५४ सीट देखाएर एमाले र कांग्रेससँग बार्गेनिङ गर्नबाहेक उक्त मोर्चा कुनै सन्दर्भमा काम नलागेको उनीहरूको ठहर छ । त्यसमाथि मोर्चामा सँगै बस्ने र पार्टी फुटाउन भूमिका खेल्ने कारण प्रचण्ड र उपेन्द्रबीच तिक्तता बढेको हो । उपेन्द्रलाई विस्थापित गर्न माथि अशोक राई र तल सिके राउतलाई उचाल्ने काम शुरु भएको छ । अर्थात्, तल–माथि भिडाएर अल्मलाउने एमालेको रणनीति छ ।

मधेस प्रदेशमा १३ सीट रहेको सिके नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री दिइनुले पनि त्यसो भनिरहेको छ । सिके एमालेका प्रियपात्र हुन् भन्ने कुरा ओली कार्यकालमा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामार्फत जेलबाट छुटाएर सीधै राष्ट्रियसभा गृहमा सम्झौता गर्न लगिएबाटै बुझ्न सकिन्छ । तर, अहिले केन्द्र सरकारमा सिकेलाई समेट्ने सुरसार छैन । भन्न त परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन भनिएको छ । ओलीले ताल परे उक्त मन्त्रालय अञ्जान शाक्यलाई दिनुभयो भने अचम्म मान्नु नपर्ने अवस्था छ ।

रवि लामिछाने सहकारी ठगीमा कारवाहीमा परे भने रास्वपा विभाजित हुने सम्भावना रहन्छ । यदि ओलीले निहुँ खोजेर सरकार अप्ठेरोमा परे आफूहरू साथ दिन तयार रहेको सन्देश कांग्रेसले प्रचण्डलाई पठाइरहेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू