फौजकी युवतीको ‘प्रेम’ मा हार

फौजकी युवतीको ‘प्रेम’ मा हार प्रहरी जवान करिश्मा सुनार र पुष्कर थापामगर
सुन्नुहोस्

भनिन्छ, ‘प्रेमले हसाउँछ, रुवाउँछ र सकाउँछ ।’ प्रेम मानवको भावनासँग जोडिएको हुन्छ । त्यसैले सच्चा प्रेममा परेकाले धोका सहन सक्दैनन् र आफ्नै जीवन समाप्न गर्नतर्फ लाग्छन् ।

हालैमात्र त्यस्तै प्रकृतिको घटना भएको छ । त्यो पनि फौजी संगठनभित्र । जिन्दगीबाट हार खाइसकेकालाई जिउन सिकाउनुपर्ने प्रहरी कर्मचारीले नै प्रेममा हारेर जीवन समाप्त पारेको घटना हो यो । 

पछिल्लो एक साताबीच दुई प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् । दुवैले आत्महत्या गर्नुको कारण ‘प्रेममा धोका’ भएको बुझिएको छ । प्रेममा गलेका एकले झुण्डिएर र अर्कोले गोली हानेर आफ्नो ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय, सिराहामा कार्यरत जवान करिश्मा सुनार जेठ ३१ गते शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । 

बाँकेको खजुरा गाउँपालिका ४ घर भएकी उनले प्रेममा धोका पाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २०७८ सालदेखि प्रहरी सेवामा प्रवेश गरेकी करिश्मा दैलेखको खरिगैडा घर भएर बाँकेको वैद्यनाथ गाउँपालिका २ बस्दै आएका २७ वर्षीय पुष्कर थापा मगरसँग प्रेममा थिइन् । सिपाही पदमै कार्यरत पुष्करको पोष्टिङ्ग जुम्लामा थियो । 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच एक–डेढ महिनादेखि दरार आएको स्रोत बताउँछ । पुष्करका कारण उनी ‘डिप्रेशन’ मा थिइन् । विवाहित हुँदाहुँदै पनि पुष्करले करिश्मासँग ‘अफेयर’ चलाएका थिए । पुष्करका दुई सन्तान रहेको करिश्मालाई थाहा दिइएकै थिएन ।

करिश्माले केही समयअघि यसबारे थाहा पाइन् । पुष्करसँग जीवन बिताउने सपना देखेकी उनलाई प्रेममा पाएको धोका सहन निकै गाह्रो परिरहेको थियो । उनीहरूबीच त्यसपछि झगडा शुरु भयो । सो दिन पनि फोनमा विवाद भएको थियो । त्यसपछि उनी शौचालयमा गएर झुण्डिएकी हुन् । 

‘करिश्मालाई पुष्करको विवाह र सन्तानबारे जानकारी रहेनछ, एक–डेढ महिनाजति भएछ थाहा पाएको । त्यसपछि उनी डिप्रेशनमा गइछन् । यही बीचमा एकपटक भेटेका र त्यतिबेला पनि झगडा भएको रहेछ । त्यो दिनपनि फोनमा विवाद भएपछि उनले शौचालयमा गएर आत्महत्या गरेको देखिएको छ’, अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । 

प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पुष्करलाई नियन्त्रणमा लिएको छ । उनको मोबाइल चेकजाँचका लागि ‘फोरेन्सिक ल्याब’ पठाइएको छ । उनले कसूर गरेको पुष्टि भएमा एकदेखि पाँच वर्षसम्म जेल सजाय हुने ती अधिकृत बताउँछन् । भन्छन्, ‘उनको जागिर त गई नै हाल्यो । कसूर गरेको ठहर भएमा एकदेखि पाँच वर्षसम्म जेल सजाय हुन्छ।’

यता, काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका एक प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । संसद्को सुरक्षार्थ खटिएका जवान अजित गोलेले आफूमाथि गोली प्रहार गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण पनि प्रेम सम्बन्ध नै भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

दोलखा स्थायी घर भएका उनकी प्रेमिका रोजगारीको सिलसिलामा दुबईमा छिन् । उनी ती युवतीसँग विवाह गर्ने निर्णयमा पुगिसकेका थिए तर दुबई पुगेकी प्रेमिकाले उनलाई पछिल्लो समय बेवास्ता गर्दै आएकी थिइन् । प्रेमको तनाव भएपछि उनले आफ्नो ज्यान लिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । 

प्रहरीले उनको मोबाइल परीक्षणका लागि पठाएको छ । उनी पनि २०७८ सालदेखि प्रहरी सेवामा भर्ना भएका थिए । प्रेममा धोका पाएको निहुँमा मर्ने र मार्ने क्रम पछिल्लो समय बढेको छ । तर, प्रहरी संगठनभित्रै यस्ता घटना हुनु विडम्बनापूर्ण कुरा हो । झुक्काएर प्रेममा पार्ने र जिन्दगी बर्बाद गर्ने यस्ता घटनाले संगठनको छविमा दाग लागेको छ । यसमा गम्भीर हुनुपर्ने देखिन्छ । 

प्रेमको अन्त्य दर्दनाक हुन्छ तर त्यसको अर्थ जीवन सकाउनु होइन । प्रहरीले नै प्रेममा धोका पाउँदा हार खान थालेपछि आम नागरिकले के सिक्ने ? यस्ता घटना दोहोरिन नदिन प्रहरी संगठनभित्रै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने जानकारहरू बताउँछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू