हिसाब नमिल्दै एमालेका मेयर र उपमेयरबीच बेमेल

हिसाब नमिल्दै एमालेका मेयर र उपमेयरबीच बेमेल

असार मसान्तमा हिसाब मिलान (क्लोजिङ) हुन केही दिन बाँकी हुँदा सिरहाको गोलबजार नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चर्केको छ ।

विवादका कारण भुक्तानीमा समस्या आएको अवस्था छ । मेयर श्यामकुमार श्रेष्ठ र उपमेयर मान्ती साहबीच कमिशनबारे विवाद उत्पन्न भएको कर्मचारीहरुको भनाई छ ।

उपभोक्ता समितिहरूमार्फत् गरिएका विकास निर्माणका काम लागत इस्टिेमेट अनुसार नभएको उपमेयरको आरोप छ । अनुगमन समितिको संयोजकसमेत रहेकी उपमेयर मान्तीले बील र कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि भुक्तानी प्रभावित भएको छ । 

‘कमिसनमा मेयरसँग कुरा नमिलेको फाइलमा उपमेयरले हस्ताक्षर गर्न नमान्दा भुक्तानी प्रभावित भएको छ,’ नगरपालिकाका एक कर्मचारीले बताए । विवाद बढेपछि नगरपालिकाका लेखाप्रमुख गंगा मण्डल कार्यालयमा देखा पर्न छाडेका छन् । उपमेयरको हस्ताक्षर नभएका फाइलहरूको भुक्तानी गर्न दबाब आएपछि उनी तर्केको अनुमान लगाउन सकिन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर खनाल हुन् । कमलो मनका मामलामा उनी पनि जिल्लाभर चर्चित छन् । बैंकको वार्षिक क्लोजिङ भए पनि स्थानीय तहमा असार २५ गतेपछि बजेट सामान्यतयाः खर्च गरिँदैन ।

सिरहाका मेयर र उपमेयर दुबै एमालेबाट निर्वाचित हुन् । मेयर श्रेष्ठ एमाले नेता तथा पूर्वमन्त्री लीला श्रेष्ठका सहोदर भाइ हुन् ।

टिप्पणीहरू