खाद्यबाट खसीबोका बिक्री शुरु

खाद्यबाट खसीबोका बिक्री शुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंलक्षित खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । 

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री थालिएको कम्पनीले जनाएको छ । यसवर्ष जिँउदो खसीबोकाको मूल्य प्रतिकेजी ६६० र मुस्ताङ्गको च्याङ्ग्रा प्रतिकेजी एक हजार २२० रुपैयाँ तोकिएको छ । 

कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले यो वर्ष एक हजार ५०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याइने जानकारी दिइन् । उनका अनुसार हालसम्म २०८ च्याङ्ग्रा र ३०० खसीबोका ल्याइसकिएको छ । 

बाँकी खसीबोका र च्याङ्ग्रा भोलि ल्याइसक्ने सुवेदीको भनाइ छ । गत वर्ष झण्डै एक हजार ७०० खसीबोका र साढे पाँच सय च्याङ्ग्रा ल्याएको खाद्यले यसवर्ष संख्या घटाएको हो । 

पोहोर लामो समय राख्दा पनि खसीबोका र च्याङ्ग्रा बिक्री नभएपछि यो वर्ष संख्या घटाइएको सूचना अधिकारी सुवेदी बताउँछिन् । उनले भनिन्,‘पोहोर धेरै समय राख्दा पनि सबै खसीबोका र च्याङ्ग्रा नबिकेपछि यो वर्ष संख्या घटाएको हौं । भोलिसम्म सबै खसीबोका र च्याङ्ग्रा ल्याइसक्ने तयारी छ ।’

टिप्पणीहरू