भाडामा ठगिए १०३ मा सम्पर्क गर्न सकिने

भाडामा ठगिए १०३ मा सम्पर्क गर्न सकिने

नेपाल प्रहरीले सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिएमा उजुरी दिन अनुरोध गरेको छ । सार्वजनिक यातायातमा मनपरी भाडा असुल्नेक्रम बढेको गुनासोप्रति ध्यानाकर्षण गर्दै प्रहरीले यात्रुसँग उजुरी मागेको हो । 

चाडपर्वको समयमा भाडाका गाडीमा यात्रा गर्दा चालक, सहचालकले साविक भाडादरभन्दा बढी भाडा लिने गरेका छन् । प्रहरीले चाडबाडका बेला यात्रुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै राजमार्गसहित विभिन्न स्थानमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरेको छ । 

‘साविक भाडादरभन्दा बढी भाडा लिएको भनी गुनासो आएको हुँदा यस प्रकारका गुनासा तथा समस्याहरु भएमा नजिकैको ट्राफिक प्रहरी कार्यालय सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सक्नुहुनेछ,’ प्रहरीले सार्वजनिक सूचना निकालेर भनेको छ । 

साथै, अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध भएकोले लामो यात्रामा निस्किनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बाटोको अवस्थाबारे बुझ्न पनि आग्रह गरिएको छ ।

टिप्पणीहरू