बाढीपहिरो र डूबान क्षेत्रमा मन्त्रीहरुको दौडाहा

बाढीपहिरो र डूबान क्षेत्रमा मन्त्रीहरुको दौडाहा

मुलुकमा कुनैपनि किसिमको विपद आइपर्दा सरकारको प्रमुख कर्तव्य तत्काल नागरिकको उद्धार र राहत गर्नु हुन्छ ।सकेसम्म प्रभावित क्षेत्रमा पुगेर पीडितहरुको अवस्था बुझ्नुपर्छ । हााम्रा मन्त्रीहरु बाढी पहिरो आएको एक सातापछि प्रभावित क्षेत्रमा जान थालेका छन् ।

गृहमन्त्री रमेश लेखकले बाढी पहिरो प्रभावितहरुसँगको भेटमा छिट्टै राहत पाउने ठोकुवा गर्नुभएको छ । ललिपुर, गोदावरीका बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले उक्त आश्वासन दिनुभएको हो ।

गृहमन्त्री लेखकले जिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई क्षति तथा प्रभावित नागरिकको विवरण संकलन गरेर तत्काल राहत उपलब्ध गराउन निर्देशन दिइएको जानकारी गराउनुभएको छ । ‘सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो’, उहाँले भन्नुभयो, ‘सम्बन्धित जिल्लाहरुलाई निर्देशन गइसकेको छ, चाडपर्व पनि आइसकेको हुनाले अबको दुई तीन दिनमै राहत पुग्छ ।’

बाढी पहिरोको कारण कतिपय नागरिक अझै पनि बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । थप्नुभयो, ‘प्राथमिकता र संवेदनशीलताका साथ विवरण सङ्कलनको काम भइरहेको छ, यसमा नागरिकले पनि सकेको सहयोग गर्नुपर्छ ।’

अवलोकनको क्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादु श्रेष्ठले मृतक ३९ जनाको परिवारलाई दुई लाख दरले पहिलो चरणको राहत वितरण गरिएको र थप राहतको तयारी भइरहेको जानकारी गराए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाले दशैँभन्दा अघिसम्म बीपी राजमार्गबाहेक अन्य राजमार्गहरु खुलिसक्ने दाबी गर्नुभयो । बीपी राजमार्गको भने १२ किलोमिटर बाढीले बगाएका कारण दशैँअघि सुचारु नहुने उहाँको भनाइ छ । ‘बीपी राजमार्गको १२ किलोमिटरबीचको भागबाहेक वैकल्पिक मार्गहरु पनि खोल्नका लागि लागिपरेका छौैँ’, उहाँले भन्नुभयो, ‘यो बाहेक अवरुद्ध अरु राजमार्गहरु खुलाउन अहिले हाम्रा संयन्त्रले दिनरात काम गरिरहेका छन् ।’

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पनि बाढी पहिरोबाट प्रभावितहरुको अवस्था बुझ्न हिजो धुलिखेल पुग्नुभएको छ ।
 

टिप्पणीहरू