हराएकाको तुलनामा भेटिएका सवारी साधनको संख्या न्यून

हराएकाको तुलनामा भेटिएका सवारी साधनको संख्या न्यून

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका दुई दर्जन बढी सवारीसाधन सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका २६ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई बुझाएको जनाएको छ ।

प्रहरी नायव महानिरीक्षक (डिआईजी) भरतबहादुर बोहराले आज १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

उपत्यकाको काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भीमसेनगोला, गौरीघाट, महाराजगञ्ज, बूढानीलकण्ठ, नेपालटार, ठमेल, कलंकीलगायत स्थानबाट हराएका र खोजतलासको क्रममा भेटिएका सवारीसाधन फिर्ता गरिएको हो ।

गत साउनयता हराएका एक सय ४१ वटा सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकिएको छ । उक्त अवधिमा १३ वटा दुई पाङ्ग्रे सवारीसाधन चोरीमा संलग्न १७ जनालाई पनि पक्राउ गरिएको छ । 

सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी सुरक्षित स्थान पार्किङ गर्न, ह्वील, चेन, ह्यान्डिल, डिस्क लक लगाउन तथा सुरक्षा साइरन जडान गर्न, मानिसको आवातजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा कल गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।

 

टिप्पणीहरू