विदेश भासिएका एआइजी टिकटकमा मस्त

हालै अवकाशप्राप्त नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवाली एकाएक विदेश पुगेर रोमान्सको टिकटक शेयर गर्न थालेका छन् । श्रीमतीसँग रोमान्टिक गीतमा समुन्द्री किनारमा नाच्दै बनाइएको टिकटकका कारण उनी फेरि चर्चामा आएका हुन् । 

प्रहरी सेवामा छँदा अवैधरूपमा अकुत सम्पत्ति कमाएको,संगठनको अनुशासन तोडेको र चेन अफ कमाण्डविरुद्ध लागेको गम्भीर आरोपमाथिको छानबिन गरिए पनि उनी गत भदौ २५ गते अनिवार्य अवकाशलगत्तै २९ गते बेलायत हुँदै अमेरिका भासिएका थिए ।

भदौ २९ गते विदेश गएपछि श्रीमती सीता ज्ञवालीको आईडीबाट केही पुराना र नयाँ फोटा तथा भिडियो राखेर बनाइएको टिकटक सार्वजनिक गरिएको छ । ‘दिउँ कि मुटु’ भन्ने गीतमा देखाइएको दृश्य भने थाइल्याण्डको हो ।

उनको अवकाशअघि नै एआइजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रहरी महानिरीक्षकलाई बुझाइएको थियो । तर ज्ञवालीमाथि हालसम्म कारबाही अघि बढाइएको छैन । तर, भदौ २५ गते अवकाश प्राप्त गरेपछि २७ गते पेन्सनपट्टा बुझेर २९ गते विदेश उडेका थिए  ।

टिप्पणीहरू