बालुवाटारदेखि संसदसम्म गीतैगीत

बालुवाटारदेखि संसदसम्म गीतैगीत

विभिन्न गीतका कारण आजको प्रतिनिधि सभामा बैठक अरु दिनभन्दा केही रोचक बन्यो । खासगरी नेकपा (एमाले) र माओवादी केन्द्रका सांसदहरुबीचको आरोप–प्रत्यारोपयुक्त गीतले सदनलाई ‘दोहोरी साँझ’जस्तो बनायो । 

एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीलाई गायक मुरलीधरको गीत गाउन सुझाव दिए । उनले ‘उडायो सपना सबै हुरीले’ बोलको गीत गाउन सुझाए । 

यसअघि असार १९ गते एमालेका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फत्तेमानको गीत गुन्गुनाउनुभएको थियो । ‘यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कैले कैले’ गीतको उक्त प्रसंग स्मरण गर्दै भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कैले कैले भन्दै गीत गाएर बसेको छ । बरू, उडायो सबै सपना हुरीले भन्ने गीत गाए हुने नि !’ 

सांसद गैरेको घोचपेचपूर्ण अभिव्यक्तिपछि माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीतबाटै जवाफ दिए । उनले गायिका कुन्ती मोक्तानको गीतमार्फत जवाफ फर्काएका हुन् । 

भने, ‘कुन्ती मोक्तानले एउटा गीत गाउनुभएको छ, कति जल्छौ आरिसले अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर ।’

संसदीय राजनीतिक प्रणालीमा सरकार बन्ने र ढल्ने स्वभाविक प्रक्रिया रहेको सांसद घर्तीको तर्क थियो । त्यसअघि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई अञ्जु पन्तको गीत समर्पण गरेका थिए । उनले भने, ‘आज म प्रधानमन्त्रीलाई अञ्जु पन्तको एउटा गीत समर्पण गर्न चाहन्छु– तिमीले पराई ठानेपछि पराई हुन के भयो र, तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र...’

हिजोको बैठकमा नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पनि रामकृष्ण ढकालको गीत गाएर व्यङ्ग्य कसेका थिए ।

टिप्पणीहरू