मुकुल ढकालको आक्रोश : ठूलो घण्टी बज्न बाँकी छ

मुकुल ढकालको आक्रोश : ठूलो घण्टी बज्न बाँकी छ
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकाललाई सँधैको लागि हटाउने तयारी गरेको छ । ढकालको ठाउँमा नयाँ महामन्त्री नियुक्त गर्न लागिएको छ ।

गत असार १९ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै ढकाललाई एक साताको लागि निलम्बन गरेको थियो । तर पार्टीको अनुशासन आयोगले ढकालमाथि थप कारबाही गर्नु सिफारिसहितको नयाँ प्रतिवेदन पदाधिकारी कमिटिलाई बुझाएको छ । उक्त सिफारिसको आधारमा भोलि बस्न लागेको केन्द्रीय समितिको बैठकले ढकाललाई सँधैको लागि महामन्त्री पदबाट हटाउन लागेको बताइन्छ । योसँगै नयाँ महामन्त्रीको लागि हाल सहमहामन्त्री रहेका कविन्द्र बुर्लाकोटी, सह प्रवक्ता रहेका मनिष झा र केन्द्रीय सदस्य सन्तोष परियारको नाम चर्चामा छ । 

उता निलम्बत महामन्त्री ढकालले भने पार्टीका दुई–चार जना नेतृत्व पंक्तिलाई आफ्नो समीक्षा प्रतिवेदन नपचेको बताएका छन् । उनले जनआस्थासँग कुराकानी गर्दै आफ्नो प्रतिवेदनले भर्खर सानो आवाजमा मात्र घण्टी बजाएको र ठूलो आवाजमा घण्टी बजाउन बाँकी नै रहेको बताएका हुन् । 

‘भोलि बस्ने केन्द्रीय समितिको बैठकले तपाईलाई सँधैको लागि महामन्त्रीबाट हटाउनेजस्तो देखियो, राजनीतिक भविष्य कस्तो देख्नु भएको छ ?’ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘म पदकै लागि रास्वपामा लागेको हैन । र अहिले जुन मेरौ प्रतिवेदनले यत्रो सबै भइरहेको छ, यो सानो आवाजको मात्र घण्टी बजेको हो, ठूलो आवाजको घण्टी बज्न अझै बाँकी छ, हेर्दै जानुस् ।’

पार्टीभित्र सभापति रवि लामिछानेले एकलौटी गर्दा पनि बोल्ने हिम्मत कसैसँग नभएको पनि ढकालले बताए । भोलि बस्ने केन्द्रीय समिति बैठकको निर्णयले आफूलाई झन् शसक्त बनाउने उनको दावी छ । ‘मेरो प्रतिवेदलाई अहिले पार्टीमा आफूलाई नेतृत्व भन्नेहरुले पचाउन सक्नुभएन, त्यो तपाईहरुले पनि देख्नुभयो नि हैन, त्यहाँ अरु बोल्ने कोही छैन । भोलिको बैठकले जे निर्णय गरोस्, तर म घण्टी बजाइरहन्छु, बजिरहन्छ’, उनले थपे ।

टिप्पणीहरू