कार्यकर्तालाई खुकुरीले छप्काउने एमाले जनप्रतिनिधि पक्राउ
बाँकेमा वडाध्यक्षको खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् ।
राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानेन्द्र बहादुर वलीले खुकुरीले हानेर स्थानीय सन्दीप विष्ट र सुलभ मल्ललाई घाइते बनाएका हुन् । वली एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् भने घाइते हुने दुई जना पनि एमालेनिकट नै रहेको बताइएको छ।
प्रहरीका अनुसार हिजो साँझ ७ बजे वडाध्यक्ष वलीसहित आधा दर्जन युवाहरुले दुई जनामाथि आक्रमण गरेका थिए । आक्रमणलगत्तै घाइतेलाई उपचारको लागि नेपालगञ्जको नर्सिङ होम पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि गएराती नै लखनउ रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले वडाध्यक्ष वलीलाई पक्राउ गरेर हिरासतमा लिइएको जानकारी दिएका छन् । घटनाको कारण भने अझै नखुलेको उनको भनाई छ ।
‘गएराती नै उहाँलाई नियन्त्रणमा लिएका हौँ’, उनले जनआस्थासँग, ‘घटना कसरी घट्यो केही खुलेको छैन, सोधपुछ गर्दैछौ ।’
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले वडाध्यक्ष वली शुक्रबारको कार्यपालिका बैठकपछि सम्पर्कविही रहेको बताए । ‘अस्ति दिउँसो कार्यपालिका बैठकपछि मैले साँझ कल गरेको थिएँ, लागेन । हिजो बिहान पनि कल गरेँ, लागेन । साँझ अचनाक खुडा हानहान भएको खबर आयो’, उनले भने ।
आपराधिक पृष्ठभूमिका वडाध्यक्ष वली विवादित पात्र हुन् । गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङ निकट मानिने उनी यसअघि पनि पटक-पटक पक्राउ परेका थिए । उनीमाथि बिभिन्न व्यक्तिलाई हतियार देखाएर धम्क्याउने गरेको आरोप छ ।
टिप्पणीहरू