आफूद्वारा आफ्नै अपहरण,चल्यो उपद्रवको मुद्दा
अपराध र घटना पनि थरिथरिका । बाँकेमा आफैंलाई अपहरण गरिएको खबर दिने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । आफू अपहरणमा परेको गलत सूचना दिने भरत तिवारीविरुद्ध प्रहरीले उपद्रवको मुद्दा चलाएको छ । उनले आफू अपहरणमा परेको नाटक गर्दै प्रहरीसहित आफन्तलाई दुःख दिएका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका–११ का २६ वर्षीय उनले गत साउन ३० गते आफ्नो ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाएका थिए । सहयोगको अपिल गर्दै भरतबाट म्यासेज आएपछि साथीहरुले प्रहरीलाई खबर गरे । उनको खोजतलास गर्न प्रहरी परिचालन गरियो ।
"हाल उनलाई थुनामा राखिएको छ । त्यसअघि भरतले आफूलाई धर्मगुरु भन्दै कथा, प्रवचन सुनाउने गरेको पाइएको प्रहरीको भनाइ छ । "
म्यासेजमा उनले अपहरणमा परेको र आफ्नो मोटरसाइकल न्यूरोडमा रहेको बताएका थिए । सोही रात १० बजेतिर भरतले प्रहरीलाई फोन गरेर आफू भागेको र डुडुवाको कम्दीस्थित खेतको बीचमा पुगेको जानकारी दिए । त्यसपछि प्रहरी उनको उद्दारका लागि उक्त स्थानमा पुग्यो । उनलाई उद्दार गरेर प्रहरी कार्यालय ल्याइयो ।
तर, प्रहरी तब जिल्ल पर्यो,जब उनकै मोबाइलमा तीन वटा ह्वाट्सएप आईडी भेटियो । प्रहरीका अनुसार उनले विभिन्न ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाउने गरेका थिए ।
अपहरणको म्यासेज पठाएर अनावश्यक दुःख दिएको पुष्टि भएपछि उनीविरुद्ध उपद्रवको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हाल उनलाई थुनामा राखिएको छ । त्यसअघि भरतले आफूलाई धर्मगुरु भन्दै कथा, प्रवचन सुनाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।
टिप्पणीहरू