साँझ पुरुषसँगै होटल पुगेकी युवतीको बिहान शव फेला

साँझ पुरुषसँगै होटल पुगेकी युवतीको बिहान शव फेला

हेटौँडाको होटलमा हिजो राति बास बसेका जोडीमध्ये महिला मृत अवस्थामा फेला परेकी छन् । हेटौंडा १०, बसपार्कस्थित रत्ना होटलमा बस्न पुगेका जोडीमध्ये युवतीको शव फेला परेको छ । 

आज बिहान अबेरसम्म कोठाको ढोका नखुलेपछि होटल सञ्चालक नवीन मगरले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले झ्याल खोलेर हेर्दा उत्तानो परेर सुतेको र सिरकले मुख छोपेको अवस्थामा अन्दाजी २२ वर्ष उमेरकी महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कोठाको ढोकाको भित्री चुकुल लगाइएको अवस्थामा थियो भने भुईंमा रगत भेटिएको छ । राति बास बस्न आएका २५ देखि ३० वर्षका पुरुष भने हिजै राति ९ बजेतिर होटल छाडेर निस्किएको बताइन्छ । 

आफन्तजनले मृतक महिला एलिसा न्यौपाने भएको पहिचान गरेको छ । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

यसैबीच हेटौँडा उपमहानगरपालिका ११, पाथिभरा मन्दिर नजिकै ७० वर्षीया ठूलीमाया विक सुतेकै ठाउँमा मृत भेटिएकी छन् । उनको दुबै कानबाट रगत बगेको पाइएको प्रहरीले जनाएको छ । घरमा नाति प्रवीण विश्वकर्मा र ठूलीमाया मात्रै बस्दै आएका थिए ।

उक्त घटनाबारे अनुसन्धान जारी रहेको र नाति प्रवीणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू