गृह मन्त्रालयको नाममा सूचना निकाल्ने देव पक्राउ

गृह मन्त्रालयको नाममा सूचना निकाल्ने देव पक्राउ

गृह मन्त्रालयको ‘फेक’ सूचना निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । 

चितवनका देव बराइली पक्राउ परेको साइबर ब्यूरोले जनाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार उनलाई आज बिहान चितवन प्रहरीले नियन्त्रणमा लिएको हो । 

‘चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । उनले आफूले सूचना इडिट नगरेको, सेयर मात्र गरेको बताएका छन् । हाल सो कन्टेन्ट उनको फेसबुकबाट हटाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ’,उनले भने । 

हिजो गृह मन्त्रालयको आधिकारिक लेटरप्याडमा आज सार्वजनिक बिदा भनि सूचना प्रकाशित भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउन लागेकाले सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

‘फेक’ सूचना प्रकाशित भएपछि गृहको नियन्त्रण कक्षले आज बिहान सार्वजनिक बिदा नरहेको भनि अर्को सूचना जारी गरेको छ । 

‘आज भदौ १९ गते सार्वजनिक बिदा भनि सामाजिक सञ्जालमा मिथ्या सूचना सम्प्रेषण भएको पाइएको छ । आज कुनै सार्वजनिक बिदा नभएको व्यहोरा सबैमा जानकारी गराइन्छ’,भनिएको छ,‘गृह मन्त्रालयले विगतमा निकालेको सूचनालाई अनधिकृत रुपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोले काम शुरु गरिसकेको व्यहोरा समेत जानकारी गराइन्छ ।’

 

टिप्पणीहरू