अमेरिकामा फेरि गोली चल्यो,४ जनाको गयो ज्यान

अमेरिकामा फेरि गोली चल्यो,४ जनाको गयो ज्यान
सुन्नुहोस्

अमेरिकाको जर्जियास्थित एउटा उच्च माध्यमिक विद्यालयमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन् ।

एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको विन्डरस्थित अपलाची उच्च माध्यमिक विद्यालयमा आक्रमणकारीले अन्धाधुन्द गोली प्रहार गर्दा कम्तीमा २ शिक्षक र २ विद्यार्थीको मृत्यु भएकाे छ । र, ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन् । घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो ।

प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अभियुक्त विद्यालयकै विद्यार्थी हुनसक्ने अनुमान गरिएको छ।

होमल्याण्ड सेक्युरिटीका सल्लाहकार लिज शेरवुड–रान्डलले घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जानकारी गराइसकेका छन् ।

गोली प्रहारपछि विद्यालयका विद्यार्थीहरूलाई नजिकैको फुटबल रंगशालामा सारिएको छ ।

एफबिआईले एजेन्सीका एजेन्टहरू घटनास्थलमा रहेको र यस क्षेत्रमा अनुसन्धान भइरहेको बताएको छ । प्रशासनले ब्यारी काउन्टीका सबै विद्यालय बन्द गरेको छ । सतर्कताका लागि जिल्लाका सबै उच्च माध्यमिक विद्यालयमा प्रहरी परिचालन गरिएको छ ।

स्थानीय अधिकारीहरूले विद्यार्थीहरूलाई उनीहरूका अभिभावकहरूसँग पुनर्मिलन गराइरहेका छन् । जर्जियाका गभर्नर ब्रायन केम्पले राज्यका निकायहरूलाई तत्काल राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।

टिप्पणीहरू