बा-आमा बाझ्दाको यो बिजोग

एउटी आमा कसरी यति क्रुर हुन सक्छिन् ?

बा-आमा बाझ्दाको यो बिजोग

‘पतिले धेरै तनाव दिन्थे । मारेर गाड्छु भन्न थाले । यातना सहन सकिनँ । अति भएपछि दुवै छोरी लिएर हिँडेँ । मर्न भनेर विष पनि बोकेकी थिएँ । छोरीहरू मात्रै छाडेर एक्लै मर्न मन लागेन’, मोरङको सुन्दरहरैंचाकी अस्मिता पौडेल (कार्की) को यो बयानले जो कोहीको मुटु हल्लाउँछ ।

१४ भदौ गते घर छाडेर हिँडेकी उनै अस्मिताले झापाको बिर्तामोडस्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेपछि बुधबार मोरङ प्रहरीसमक्ष दुई नाबालक छोरीको विष खुवाएर ज्यान लिएको स्वीकारिन् । अबोध नाबालिकारू १० वर्षीया आइङ्का र ३ वर्षीया अर्पनाले बाबुआमाको झगडाको शिकार हुनुपर्यो ।

अस्मिताले दुई छोरीको ज्यान नै लिने यति क्रुर निर्णय किन लिइन् त ? मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले यसबारे अझै अनुसन्धान भइरहेको बताए । यद्यपि पतिले दिएको तनावकै कारण आफूले दुवै छोरीसहित विष पिएर मर्न खोजेको बयान दिइसकेकी छन् । उनले पहिले आफू मेटासिड नामक विष पिएर त्यसपछि दुवै छोरीलाई दिएको बताएकी छन् ।

अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरेमा पर्छ । उनका पति अर्जुन कार्की गाडी चालक हुन् । आमभाषामा ड्राइभर दाइ भनिने अर्जुनसँग अस्मिताको २०७५ फागुन ९ गते प्रेम विवाह भएको हो । आपसी प्रेमपछि राजीखुशी विवाह बन्धनमा बाँधिएको जोडीले मोरङकै सुन्दरहरैंचा–५ मा घरसमेत बनाउँदै थिए । सुन्दरहरैंचा–७ स्थित नाता सीता रेग्मीको घरमा बस्दै आएका यी दम्पतीको झगडाका कारण अब सबथोक भताभुंग भएको छ ।

आखिर प्रेम विवाह गरेका उनीहरूबीच किन मच्चियो त कलह ? यस घटनाको जरोसम्म पुग्न प्रहरीले अर्जुन र अस्मिता दुवैसँग बयान लिइरहेको छ । भदौ १३ गते साँझ भने अर्जुनले अस्मितालाई बनिरहेको घरमा पानी नहालेको भन्दै हप्काएको खुलेको छ । त्यसको भोलिपल्ट अस्मिता दुवै छोरी च्यापेर घरबाट हिँडिन्  ।

उनै अस्मिताको बयानले ती नाबालक छोरी सम्झेर जो कसैका मत भतभती पोल्न सक्छ  । ‘प्रेममा परेर रोजेकै मान्छेले पनि मारी गाड्छु भनिरहन्थे । पतिको यातना खप्न नसकेपछि मर्ने निर्णयमा पुगेँ । एक्लै मर्न मन लागेन । छोरीहरू पनि साथमै लिएर गएँ । केरा बगानमा पसेपछि शुरुमा मैले विष खाएँ, त्यसले मेरो पेट भतभती पोल्न थाल्यो । म मर्छु भन्ने लागेपछि छोरीहरूलाई त्यही खुवाएँ । उनीहरू हेर्दाहेर्दै मरे तर म मर्न सकिनँ’, अस्मिताले बयानमा भनेकी छन्, ‘घरमा कहिल्यै शान्ति र मेल भएन । मलाई धेरै भयो तनाव दिएको,सहनै नसकेपछि छोरीहरूसँगै मर्न खोज्दा पनि सकिनँ ।’

अर्जुनसँग प्रेमपछि सँगै बाँच्ने,सँगै मर्ने कसम खाएर विवाह गरेकी अस्मिता त्यत्तिकै यो निर्णयमा पुगिनन् । एसपी कार्कीका अनुसार उनी चर्को मानसिक तनावबाट गुज्रिएको देखिन्छ ।

पाँच दिन हराइन्

दुवै नाबालिका केरा बगानमा भदौ १५ मा मृत भेटिएपछि खैलाबैला भयो । अर्जुनले छोरीका शव सनाखत गरे पनि अस्मिता बेपत्ता थिइन् । छोरीहरूको ज्यान लिएपछि शुरुमा अस्मिताले आत्महत्या गरेको आशंकामा खोजियो । तर कतै पत्तो लागेन । उनी मोरङबाट झापाको बिर्तामोड पुगेको अवस्थामा बुधबार बिहान भेटिइन् ।

अस्मितालाई बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउको एभरेष्ट बैंक अगाडिबाट प्रहरीले समात्यो । त्यसबेला उनी गलेर बिरामी परेको अवस्थामा थिइन् । त्यसपछि कोशी अस्पतालमा भर्ना गरियो ।

‘छोरीलाई विष खुवाएर ज्यान लिएपछि त्यस रातभर उनी विक्षिप्त अवस्थामा जंगलतिर भौतारिएकी रहिछन् । भोलिपल्ट खोर्सानेबाट गाडी चढेर बिर्तामोड पुगेको अनुसन्धानबाट खुलेको छ,’ मोरङका एसपी कार्कीले भने, ‘बिर्तामोड पुगेपछि उनी जंगल छेउ र बस्ती आसपास भौँतारिएकी रहिछन् । उनी विक्षिप्त छिन् । भदौ १८ गते राति नचिनेकी महिला बास माग्दै एक घरमा पुगेको पाइएपछि पछ्याउने क्रममा नियन्त्रणमा लिएका हौँ ।’

कार्कीका अनुसार झापाबाट ल्याएर कोशी अस्पतालमा उपचारपछि उनलाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा चार दिनको म्याद लिइएको छ ।

टिप्पणीहरू