चुनाव हो,अब कतै चमत्कार  छैन

चुनाव हो,अब कतै चमत्कार  छैन

मंसिर १६ गते मुलुकभर स्थानीय तहका रिक्त विभिन्न ४४ पदका लागि हुन लागेको उपनिर्वाचनको प्रचार प्रसार जारी छ । हिजो बेलुकी उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान भएसङ्गै सम्बन्धित पालिकामा चुनावी रौनक देखिन थालेको छ ।  

तीन वर्षअघिको स्थानीय निर्वाचनमा गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनअघि निकै तामझाम गरेको थियो । तर, कात्तिक २ गते पार्टी सभापति रवि लामिछाने सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेपछि चुनावी  प्रचारमा अचम्मको ब्रेक लागेको छ । एक महिनादेखि  सभापति पक्राउको विरोधमा सडक आन्दोलन गर्दै आएको उक्त पार्टीको केन्द्रीय समिति बैठकले हिजो आएर सडक आन्दोलन नगर्ने भनी पूर्व निर्णय सच्याएको छ ।

सरसर्ति हेर्दा उपनिर्वाचनमा उठेका सबै रास्वपा उम्मेदवारको जमानत जोगिने सम्भावना न्यून रहेको बताइन्छ । निर्वाचनमा खटिएका कर्मचारीहरुका अनुसार एकाध वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिए पनि कतै कुनै प्रभाव देखिएको छैन । राजधानीकै चर्चित कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिन नसक्नुले पनि रास्वपा स्खलित मार्गमा अग्रसर भएको अनुमान लगाइएको हो ।

‘दशैं अगाडिको अकस्मात भल बाढीले काठमाडौं डुब्यो जस्तो भएको थियो । अहिले अवस्था यथावत छ । एकाध वर्षमा आउने बाढी र रविको हल्ला उस्तै हो ।’

कीर्तिपुर नगरपालिकामा खटिएका एकजना अधिकृतले भने, ‘राजधानीमै उम्मेदवार हुने व्यक्ति नपाउनु भनेको प्रभाव स्खलित हुनुको लक्षण हो । मतदातामा पनि घण्टीप्रति खासै उत्साह पाइएको छैन ।’ उपनिर्वाचनको पूर्व सन्ध्यामा रास्वपाको रणनीतिलाई हेर्दा आक्रामक नभएर रक्षात्मक अवस्थामा पुगेको अनुमान गरिएको छ । 

उनै निर्वाचन अधिकृतले रास्वपाको विगतको क्रेजलाई खहरेको बाढीसँग तुलना गरेका छन् । उनले भने, ‘दशैं अगाडिको अकस्मात भल बाढीले काठमाडौं डुब्यो जस्तो भएको थियो । अहिले अवस्था यथावत छ । एकाध वर्षमा आउने बाढी र रविको हल्ला उस्तै हो ।’

मंसिरको उपनिर्वाचनमा पनि काँग्रेस, एमाले र माओवादी तीन ठूला दलबीच नै प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । हुन तः ती दलका शीर्ष नेताहरुले निर्वाचन एक्ला एक्लै लड्ने भनेका थिए । तर अहिले पाएसम्म र मिलेसम्म तालमेल तथा गठबन्धनमै जोड दिएका छन् । जिल्ला समन्वय समितिको निर्वाचन सामान्यतयाः  एकल दलले जित्ने सम्भावना हुँदैन । त्यसमा जिल्लाभरका नगरपालिकाका मेयर, उपमेयर,गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेकाले अन्य दलसँग तालमेल गर्नुको विकल्प हुँदैन । 

अहिले काँग्रेसलाई एमालेले दिएको ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुख पहिले पनि काँग्रेसले जितेकै थियो । कैलालीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको ७ मत छ भने काँग्रेसको ८ र एमालेको ६ छ । १३ मत भए जितिने उक्त निर्वाचनमा काँग्रेसको पक्षमा १४ छ । विपक्षी दलहरुमध्ये माओवादीको ४ र एकीकृत समाजवादीको १ मत रहेकाले उनीहरु सबै एक ठाउँमा हुँदा जम्मा १२ हुन आउँथ्यो त्यसैले त्यहाँ सबैले हापेर निर्विरोध गराइसकिएको छ ।

टिप्पणीहरू