एक अर्ब २० करोड डलरमध्ये एक्जिम बैंकको १८ करोड

एक अर्ब २० करोड डलरमध्ये एक्जिम बैंकको १८ करोड

१३५ मेगावाट क्षमतायुक्त मनाङ्ग–मर्स्याङदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन जुटाउने कार्यमा चिनियाँ एक्जिम बैंकले १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण प्रदान गरेको छ । मनाङ–मर्स्याङदी जलविद्युत कम्पनी प्रा.लि.द्वारा प्रवर्धित १३५ मेगावाटको आयोजना निर्माण कार्यसमेत प्रारम्भ भइसकेको छ ।

हिजो अक्टोबर २२ का दिन चीनको एक्जिम बैंकसँग कर्जा सम्झौतापश्चात् वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको जनाइएको छ । लगत्तै निर्माण कार्यसमेत प्रारम्भ भएको र बाँकी ऋण रकम अन्य श्रोतबाट जुटाउन लागिएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।

यस कम्पनीमा बुटवल पावर कम्पनी लिमिटेड,चिनियाँ लगानीकर्ताहरू एसिआइजी इन्टरनेशनल लि.,सिडचेड इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्युवाईसी इन्टरनेशनल कम्पनी लिमिटेड, ती कम्पनीहरूको संयुक्त लगानीको एसिआईजी इन्टरनेशनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनी प्रा. लि.को संयुक्त लगानी छ । ऋण तथा स्वःपुँजी लगानीको अनुपात ८०ः२० रहेको कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनी र ८० प्रतिशत चिनियाँ लगानी हुनेछ । 

कम्पनीले आयोजनास्थल वरपरका स्थानीय बासिन्दालाई प्रचलित कानूनको अधिनमा रहेर सेयर उपलब्ध गराउँदै छ । निर्माणकार्य इपीसी ठेक्का अन्तर्गत सिनोहाइड्रो ब्युरो ७ कम्पनी लिमिटेडले गर्ने छ । ४२ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने आयोजनाको सुपरीवेक्षण चीनको नर्थवेस्ट इञ्जिनियरिङ कम्पनी चाइनाले गर्न लागेको छ । 

अर्धजलाशययुक्त यो परियोजना मनाङको चामे र नासो गाउँपालिकामा पर्दछ । क्यास्केड अवधारणामा नजिकै निर्माणाधीन तीन जलविद्युत आयोजनाहरूमध्ये यो पहिलो हो । मनाङ र लमजुङ्गमा रहेका अन्य दुई आयोजनाहरूमा एक हजार ३९२ मेगावाट क्षमताको लोअर मनाङ मर्स्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाट क्षमताको अप्पर मर्स्याङदी–२ जलविद्युत छन् । तीनवटै आयोजनाको कूल जडित क्षमता ६०१.२ मेगावाट र कूल लागत एक अर्ब २० करोड अमेरिकी डलर अनुमान गरिएको छ । 

कोभिड महामारी, जग्गा अधिग्रहण र रुख कटानमा देखिएको चुनौती, मर्स्याङ्दीमा तीन वर्षअघि आएको भीषण बाढीका बाबजुद आयोजना अघि बढेको कम्पनीले जनाएको छ । यसका नेपाली लगानीकर्ता प्रसिध्द ब्यापारी पदमज्योती हुन् जसको पुर्खाले ल्हासामा स्यामुकपु (सेतो टोपी) कम्पनीमार्फत सैयौँ बर्षदेखि ब्यापार गर्दै आएको छ ।

टिप्पणीहरू