जाजरकोटका दुवै पदमा मतदान धमाधम
जाजरकोट नलगाड नगरपालिकाको उपमेयर पदका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा ११ बजेसम्म २० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए ।
१६ वटा मतदानस्थलका २४ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण मतदान भइरहेको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा एमालेका सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने ‘शोभा’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुनिता रावल पुनलगायत प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित सरिता सिंहको भूकम्पमा परि ज्यान गएपछि यहाँ उपचुनाव भएको हो ।
जाजरकोटकै कुशेँ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि पनि मतदान भैरहेको छ । एउटा मतदानस्थलको दुईवटा केन्द्रमा अहिले मतदान जारी छ ।
माओवादी केन्द्रका तर्फबाट चुनाव जितेका वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असार ४ गते हृदयघातका कारण निधन भएपछि रिक्त अहिले पदमा प्रमुख तीन दल प्रतिश्पर्धामा छन् । कांग्रेसले खम्बबहादुर सिंह, एमालेले डम्बरबहादुर घर्ती र माओवादी केन्द्रले गोरखबहादुर नेपालीलाई मैदामा उतारेको छ ।
टिप्पणीहरू