हिसाव मिलाएरै हो प्रधानमन्त्री पूर्व हिंडेको ?
प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान झापा जानुभएको छ । उहाँ आज र भोलि सहभागी हुने विभिन्न आठ वटा कार्यक्रमसहित गृहजिल्ला झापा पुग्नुभएको बताइन्छ ।
यता आजै मध्यान्ह मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री भोलि साँझ दुबई हुँदै स्वदेश फर्कनेगरी श्रीलंकाबाट काठमाडौं आइपुग्नुभएको छ । दिउँसो बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा र अपरान्ह खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटपछि भक्तपुर दरबार क्षेत्रको अवलोकनमा जानुभएको छ ।
भोलि विभिन्न कार्यक्रममा सहभागी भएर उहाँ साँझ फर्कने कार्यक्रम भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नहुने अमेरिकी दूतावासले सार्वजनिक गरेको कार्यक्रमबाट पनि बुझ्न सकिन्छ । सोही सन्दर्भलाई लिएर नेपालको सेयर बजारमा आज आंशिक प्रभाव परेको छ ।
हालैको चीन भ्रमणमा भएको बीआरआई फ्रेमवर्क हस्ताक्षरबारे अमेरिकी सहायक विदेशमन्त्री लुको एकपछि अर्को प्रश्नलाई छल्न प्रधानमन्त्री एकाएक झापा जानुभएको एकथरीको विश्लेषण छ । अर्काथरीले दक्षिण र पश्चिमा शक्तिहरु नेपालमा बिआरआई कार्यान्वयनको सन्दर्भमा निकै गम्भीर भएकाले वर्तमान सरकारकै निरन्तरतामा प्रश्न चिन्ह उठ्न सक्नेसम्मको आकलन गरेपछि त्यसको असर सेयर बजारमा परेको भनिएको छ । आज साताको पहिलो दिन सेयर बजार १.६७ प्रतिशतले घटेको छ ।
प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यक्रमअनुसार गृहजिल्ला झापा जानुभएकाले लुसँग भेट हुन नसकेको बालुवाटार स्रोतको दाबी छ । हुन तः अमेरिकी दूतावासले सार्वजनिक गरेको लुको कार्यक्रममा पनि प्रधानमन्त्रीसँग भेटवार्ता उल्लेख छैन । पछिल्लो अवस्थालाई आकस्मिक वा सुनियोजित भन्ने सन्दर्भमा छुट्टाछुट्टै धारणा पाइएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री लुसँगको भेटमा माओवादी अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उहाँले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रत्युत्तरमा अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति अमेरिकाका लागि पनि खुशीको विषय रहेको उल्लेख गर्नुभयो । सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने उहाँको भनाई छ ।
त्यसअघि देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा पनि त्यस्तै धारणा अभिव्यक्त भएको बताइन्छ ।
टिप्पणीहरू