हिमालय एअरलाइन्सको कूटनीतिक उडान
हिमालय एअरलाइन्सले विशेष कूटनीतिक उडान सञ्चालन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार उक्त एयरलाइन्सको विशेष उडानमार्फत चीनको राजधानी बेइजिङ जानुभएको हो ।
चीन जाने टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव, सांसदहरु, वरिष्ठ सरकारी अधिकारी तथा विभिन्न उद्योगका प्रतिनिधिहरु पनि सहभागी छन् ।
सो क्रममा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योंग वायुयानमा स्वयम् उपस्थित भई प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका सदस्यको स्वागत गर्नुभएको थियो । त्यस्तै, उपाध्यक्ष विजय श्रेष्ठले बिदाई गर्नुभयो ।

उडानपछि उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राका लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो । हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारी सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसर प्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ । साथै, यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले सञ्चालन गरेको काबुलको मानवीय उडानसमेत सम्झन चाहन्छौँ ।’
उडान दलमा वरिष्ठ क्याप्टेन हाओ दी, क्याप्टेन रिवाजप्रसाद प्रधान र फस्र्ट अफिसर सागर श्रेष्ठ रहेका छन् । जहाज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो ।
टिप्पणीहरू