डडेल्धुरा विमानस्थलबारे देउवामाथि माधवको गम्भीर प्रश्न
पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लागेको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देउवामाथि यस्तो आरोप लगाउनुभएको हो । आज संसद्को अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले भन्नुभयो- शेरबहादुरजीले ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ?'
बैतडी र डोटीका एयरपोर्ट चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा विमानस्थल बनाउन खोज्नुको औचित्य नहुने जनाउँदै अध्यक्ष नेपालले ठेक्कामा कमिसन खाने खेल हुनसक्ने आशंका गर्नुभएको छ । मेरो जिल्लामा पनि विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उपलब्धि नहुने उहाँको दावी छ ।
विमानस्थलहरु चल्न नसकेको जिम्मेवारी निर्णय गर्नेहरुले लिनुपर्नेसमेत उहाँले स्पष्ट पार्नुभयो ।
यस्तो छ अध्यक्ष नेपालको भनाई :
एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल विशाल बिल्डिङहरु बनाउँछौँ । यो बिल्डिङ नबनाइ नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भएपनि । यो अर्बौं अर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरु ठाउँमँ पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ । बनाएका विभिन्न संरचनाहरु हेर्ने हो भने मन्त्री क्वार्टर त्यस्तै छ, प्रधानमन्त्री क्वार्टर त्यस्तै छ । जम्मै ठाउँ त्यस्तै छ भने हामीले किन नगर्ने ?
आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्शान भइरहेको छ नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार । अहिले पनि त्यो जारी छ ।
अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्शानी भइरहेको छ ।
टिप्पणीहरू