पर्यटन समितिमा राजकिशोर र प्रेम सुवालबीच झन्डै कुटाकुट
संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सभापति राजकिशोर यादव र नेमकिपाका सांसद प्रेम सुवालबीच बाझाबाझ भएको छ। .
आज सिंहदरबारमा बसेको बैठकमा दुइजनाबीच भनाभन भएको हो । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा अनुउपस्थित सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।
आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै उनले प्रश्न उठाएपछि यादव आक्रोशित भए । त्यसपछि चर्काचर्की शुरु भएको हो ।
यस्तो छ दुई जनाको सवालजवाफ :
राजकिशोर- औँला तल राख्नुस्, नौटंकी गर्ने ?
प्रेम सुवाल - तपाईं निरङ्कुश ढंगले नचलाउनुस् । निरंकुष्ण नहुनुस् राणा शासन हैन यो ।
राजकिशोर- तपाईं चैं हिरो नपल्टिनुस् ।
प्रेम सुवाल - मैले असहमति छ भनेपछि, तपाईंलाई यो समितिबाट हुटिङ छ होस् गर्नुस् । तपाईं बढ्ता नहुनुस् । तपाईं पनि एक्लै हो, म पनि एक्लै हो के फुर्ति गर्छस् तपाईंले !
राजकिशोर - दलीय हिसाबमा छलफल गरेको छ ।
प्रेम सुवाल - मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? तपाईं निरङ्कुश बन्ने ?
राजकिशोर - बन्ने बन्ने हो !
प्रेम सुवाल - ठिक छ, तपाईं कुन दिन हुत्तिन्छ होस् गर्नु । सत्ता पार्टीको पुच्छर भएर नहिंड्नु , समितिको नेता बन्नु ।
राजकिशोर - यहाँ माओवादी सत्ता पक्ष हो ?
प्रेम सुवाल - हिजो प्रधानमन्त्री भएका सबै सत्ता पार्टी हो । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा पाउँछ ।
टिप्पणीहरू